• २५ असार २०८१, मङ्गलबार

बाढीले अस्थायी पुल बगाएपछि स्थानीयलाई सास्ती

blog

बाढीले भत्काएको पुलमा जोखिम मोलेर ओहोरदोहोर गर्दै स्थानीय । तस्बिर : रामलाल चौधरी

अविनाश चौधरी

धनगढी, असार १७ गते । कैलालीको कैलारी गाउँपालिका–७ रामपुरस्थित कटैनी नदीको पुल बाढीले बगाएपछि स्थानीयलाई सास्ती भएको छ । बिहीबार आएको बाढीले कृषि सडक अन्तर्गतको काठे पुल बगाएपछि स्थानीयलाई ओहोरदोहोर गर्न सास्ती भएको हो । 

अहिले खेतीपातीको काम भइरहेका बेला सो पुल भएर केयौं गाउँका स्थानीयवासी खेतसम्म आउनेजाने गरेका थिए । बाढीले काठे पुल भत्काएपछि जोखिम मोलेर खेतमा जान बाध्य भएको रामपुर गाउँका स्थानीय रामलाल चौधरीले बताउनुभयो । 

उहाँका अनुसार ओहोरदोहोरका लागि रामपुर, भुईयाँफाँटा, तिघरीका स्थानीयले मिलेर बनाएको काठे पुल भत्केपछि यी तीन गाउँवासीलाई सबैभन्दा बढी समस्या झेल्नुपरिरहेको छ । 

पुल भत्केपछि स्थानीयले ट्रयाक्टर, डल्लपलगायतका कृषि साधन लिएर खेतसम्म पुग्न वडा नम्बर ५ स्थित पवेरा मन्दी हुँदै तीन चार घण्टाको यात्रा गर्नुपरिरहेको छ । नदीले काठे पुल बगाएपछि खेतीपातीका बेला किसानलाई निकै समस्या भइरहेको वडा ७ का वडा अध्यक्ष दीपेन्द्र बमले बताउनुभयो । 

‘भुईयाफाँटा, रामपुर, तिघरीको खेतमा जाने मुख्य कृषि सडकको पुल हो त्यो’, उहाँले भन्नुभयो, ‘बाढीले पुल बगाएपछि जनताहरु आफ्नो खेतमा जान पवेराको बाटो हिंड्न बाध्य छन् ।’ वडाध्यक्ष बमले काठे पुल शीघ्र व्यवस्थापनका लागि आफूले गाउँपालिकाको कार्यालयलाई आग्रह गरेको बताउनुभयो । 

यसैगरी, सोही वडाको छटकपुर वसन्ताको काठे पुल पनि केही दिन अगाडिको बाढीले बगाएर लगेको छ । पुल बगेपछि स्थानीय जोखिम मोलेर नदी तर्न बाध्य भएका छन् ।