• २ असार २०८१, आइतबार

पाँच लाख अफगान नागरिक घरबारविहीन हुने जोखिममा

blog

फाइल तस्बिर

काबुल, असार १७  गते । आन्तरिक रूपमा विस्थापित भएकाहरूलाई उनीहरूको मूलघरमा नै पठाउने सरकारको बढ्दो दबाबका कारण करिब पाँच लाख अफगान परिवार चाँडै घरबारविहीन हुने जोखिम बढेको छ ।

नर्वेजियाली शरणार्थी परिषद्का देशीय निर्देशक नील टर्नरका अनुसार करिब चार हजार सर्वसाधारणलाई काबुल र आसपासका घरहरूबाट बाहिर निकालिएको छ । सरकारी दबाब जारी रहेमा  दशौँ हजार मानिस आवासविहीन हुनेछन् र त्यस्तो अवस्थामा सहायता संस्थाहरूले पनि विस्थापितहरूलाई सहयोग गर्न नसक्ने परिस्थिति उत्पन्न हुनेछ ।

अफगानहरू दशकौँको युद्ध, खडेरी, राजनीतिक उथलपुथल र आर्थिक मन्दीबाट विस्थापित भएका छन् भने हालै भूकम्पले उनीहरूको भविष्य तहसनहस भएको छ । ठूला शहरका बाहिरी क्षेत्रमा अस्थायीरूपमा बसोबास गर्दै आएका उनीहरूलाई सरकारले तुरुन्त त्यहाँबाट बाहिरिन आह्वान गरेको छ । काबुलको बाहिरी इलाका मजार–ए–शरीफ र दाइकुण्डी तथा केही अन्य प्रान्तबाट तालिबानले धेरै विस्थापितहरूलाई धपाएको आरोप छ ।

परिषद्का निर्देशकले उपयुक्त विकल्प सुनिश्चित नभएसम्म अनौपचारिक बस्तीहरू बन्द गर्दा पीडितहरूमाथि थप प्रभावित हुने र उनीहरू ठूलो जोखिममा पार्ने बताए ।

गतवर्षको द्वन्द्वले सात लाखभन्दा बढी अफगानी आफ्नो घर छोड्न बाध्य भएका तथा  विगतमा विस्थापित भएका ५५ लाख घरवारविहीनमा ती थपिएका अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले जनाएको छ । विशेषगरी महिला र केटीहरूले बढ्दो सुरक्षा जोखिमको सामना गरिरहेका छन् ।

सन् १९९० देखि २००१ सम्म देशमा शासन गरेको तालिबानले गतवर्ष त्यहाँबाट अन्तर्राष्ट्रिय सेना फिर्ता भएपछि शासनसत्ता पुनः आफ्नो हातमा लिएको छ । देश अहिले प्रणालीगत पतनको छेउमा पुगेको छ । देशको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको सख्त आवश्यकता परेको छ तर सहायता प्राप्त हुने लक्षण देखिएको छैन । गरिबीमा डुबेका अफगान नागरिक इरान र पाकिस्तान पलायन भएका छन् भने आगामी दिनहरूमा पनि त्यो क्रम जारी रहने सम्भावना छ । जीविकोपार्जन जटिल बन्दै जाँदा उनीहरू विकल्पविहीन भएका छन् जसले विस्थापन र आप्रवासनका समस्यालाई अझ जटिल बनाएको छ ।