• १६ चैत २०८०, शुक्रबार

कोरोना सङ्क्रमण : भारतमा घट्दै दक्षिण कोरियामा बढ्दै

blog

नयाँदिल्ली, असार २८ गते । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या क्रमशः घटिरहेको छ भने दक्षिण कोरियामा बढिरहेको छ । सोमबारको तुलनामा मङ्गलबार तीन हजार ६३ जना कम सङ्क्रमण पुष्टि भएको हो । बितेका २४ घण्टामा १३  हजार ६१५ जना सङ्क्रमित फेला परेका छन् ।

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाखभन्दा बढी पुगेका समाचारमा जनाइएको छ । यहाँ एक लाख ३१ हजार ४३ सक्रिय सङ्क्रमित रहेका छन् । यो कुल सङ्क्रमितको ०.३० प्रतिशत हो । करिब चार महिनापछि १२ दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।

पछिल्लो एक दिनमा १३ हजार २६५ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २९ लाख ९६ हजार ४२७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.५० प्रतिशत  छ ।

बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट २० जनाको मृत्यु भएको छ । कोरोना महामारीका कारण पाँच लाख २५ हजार चारसय ७४ भन्दा बढीको मृत्यु भएको छ । सोमबार चार लाख २१ हजार दुई सय ९२ कोरोना परीक्षण गरिएको थियो । हालसम्म ८६ करोड ७३ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९८ करोड ८८ लाख ७७ हजार ८६३ मात्रा खोप लगाइएको छ ।

यसैबीच दक्षिण कोरियामा सोमबार ३७ हजार ३६० जना कोरियाको नयाँ सङ्क्रमित भेटिएका स्वास्थ्य अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । योसँगै दक्षिण कोरियामा एक करोड ८५ लाख ६१ हजार आठसय ६१ पुगेको स्वास्थ्य  मन्त्रालयले जानकारी दिएको  छ ।

अघिल्लो दिनको तुलनामा आज १२ हजार छ सय ९३ जना बढेको जनाइएको छ । कोरोना सङ्क्रमणबाट हिजो सात जनाको मृत्यु भएको थियो । कोरोनाका कारण हालसम्म २४ हजार छ सय ६८ जनाको मृत्यु भइसकेको छ ।