• २८ असोज २०८२, मङ्गलबार

कालीगण्डकी करिडोर २३४ किमि कालोपत्र, ३६ वटा पुल निर्माण

blog

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत पर्ने हर्मिचौर–बलेवा खण्ड । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), असोज २८ गते ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको गैंडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक अन्तिम चरणमा पुगेको छ ।

आयोजना सुरु भएको १६ वर्षमा कालीगण्डकी करिडोरअन्तर्गत उक्त खण्डमा पर्ने २९३ किमिमध्ये २३४ किमि सडक कालोपत्र, ३६ वटा पुल निर्माण सम्पन्न भएका छन् भने छ वटा पुल निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

कालीगण्डकी करिडोर गैंडाकोट–राम्दी–मालढुङ्गा सडक योजना पाल्पाको तथ्याङ्क अनुसार कालीगण्डकी करिडोर बागलुङ, गुल्मी, पाल्पा, नवलपुर र कालीगण्डकी लोकमार्ग मिर्मि–सेतीवेनी–फलेवास–अर्मादी–कुश्मा खण्डकको स्याङ्जा र पर्वत जिल्लामा फैलिएको उक्त खण्डमा ८० प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तिय प्रगति भएको छ ।

आयोजना सुरु भएको १६ वर्षमा ट्रयाक खोल्न, स्तरोन्नती, चौडा पार्न, कालोपत्र गर्न र पुलहरु निर्माण गर्नका लागि रु.१४ अर्ब सात करोड खर्च भएको करिडोरका इन्जिनियर उत्सव बस्यालले जानकारी दिनुभयो ।  

आर्थिक वर्ष २०६६÷६७ सालमा आयोजना सुरु गरिएको र २०८३/२०८४ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सुरुमा २० अर्ब लागत गरेको उक्त २९३ किमि खण्डमा अहिले सम्म ७० प्रतिशत रकम खर्च भइसकेको छ ।

बस्यालले २९३ किमि सडकमध्ये १४५ किमि सडक सम्पन्न प्रश्चात सडक डिभिजन कार्यालयहरुलाई हस्तान्तरण गरिसकेको जानकारी दिँदै उक्त खण्डमा गएका ठुला पहिरोहरुको ठेक्का व्यवस्थापन, जम्मा ०.४२ किमि सडकको ठेक्का व्यवस्थापन र १७ वटा पुल बन्न बाँकी रहेको जानकारी दिनुभयो ।

चार जिल्ला फैलिएको करिडोरको गैंडाकोट–राम्दी–मालढुङ्गा खण्ड र दुई जिल्ला फैलिएको कालीगण्डकी लोकमार्ग मिर्मि–सेतीवेनी–फलेवास–अर्मादी–कुश्मा खण्ड रहेको छ । करिडोरको नवलपुरमा ७७.९७ किमि, पाल्पामा ८६.२७ किमि, गुल्मीमा ४१.०६ किमि, बागलुङमा ३४.७० किमि, स्याङ्जामा १० किमि र पर्वतमा ४३ किमि पर्दछ ।

“१६ वर्षमा ८० प्रतिशत काम सम्पन्न भएको छ, १७ पक्की पुल र पहिरो र केही समस्या ग्रस्त एक किमि बाहेकको सडक ठेक्कामा छ, २९३ मध्ये जम्मा ५९ किमि कालोपत्र गर्न बाँकी छ, जसमध्ये बागलुङमा १० किमि कालोपत्रका लागि धमाधम पूर्वाधारको काम भइरहेको छ ।,” इन्जिनियर बस्यालले भन्नुभयो “आर्थिक वर्ष २०८१/८२ मा मात्रै रु.दुई अर्ब ४७ करोड बजेट विनियोजन भएकोमा दुई अर्ब ३५ करोड अर्थात ९४ प्रतिशत खर्च भएको थियो, ठेक्कामा गइसकेकाले २०८३/२०८४ मा गैंडाकोट–राम्दी–मालढुङ्गा खण्ड सकिन्छ भन्नेमा छौं ।”

उक्त खण्डमा गत आर्थिक वर्षमा ३० किमि सडक लक्ष्य रहेकोमा ४४ किमि सडक कालोपत्र गरिएको र चार वटा पक्की पुल निर्माण गरिएको छ ।

गैडाकोट–राम्दी–मालढुङ्गा खण्डमध्ये बागलुङ खण्डमा ३४.७० किमि सडक पर्दछ । जसमध्ये बलेवा–जैमिनी खण्डको २४ किमि सडक कालोपत्र सम्पन्न भइसकेको छ भने बलेवा–मालढुङ्गा सडकको १० किमि सडक कालोपत्रको चरणमा छ । बलेवा–मालढुङ्गा खण्डमा भने बल्ल ५६ प्रतिशत भौतिक प्रगति भएको छ ।