• १६ चैत २०८०, शुक्रबार

विद्युतीय मतदान यन्त्र उपलब्ध गराउन सरकारलाई आयोगको आग्रह

blog

काठमाडौं, असार १६ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने भए साउन मसान्तसम्म उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।

बिहीबार विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन हुन सक्ने अवस्था विद्यमान नभए साउन मसान्तसम्म उपलब्ध गराउन गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्लाई पत्र पठाएको आयोगले  जनाएको छ । 

त्यस्तै, विद्युतीय मतदान यन्त्रको प्रयोग तथा व्यवस्थापनसम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदन गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाएको पनि आयोगले जनाएको छ ।

‘‘प्रतिवेदनमा उल्लेख भए बमोजिमको स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन हुन सक्ने अवस्था हाल विद्यमान नभएमा आगामी २०७९ साउन मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रबन्ध गरिदिन गृह मन्त्रालयमार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको छ ।,’’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन आयोगले संविधान तथा सङ्घीय कानुनबमोजिम हुने राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश सभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचनहरूमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

विसं. २०६४ सालको संविधानसभा निर्वाचनमा आयोगले छ वटा र २०७१ को उपनिर्वाचनमा बर्दिया, बागलुङ, काठमाडौं, कैलालीलगायत पाँच वटा निर्वाचन क्षेत्रमा विद्युतीय मतदान यन्त्रको सफलतापूर्वक प्रयोग भएको आयोगले जनाएको छ ।