बेइजिङ, माघ ३ गते । चीनको रकेट ‘लङ मार्च-१२बी’ ले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । यो परीक्षणलाई आगामी उडान मिसनतर्फको महत्त्वपूर्ण चरणका रूपमा हेरिएको रकेट विकास कर्ताले जनाएको छ ।
उत्तरपश्चिम चीनस्थित डोङफङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन पाइलट क्षेत्रमा सम्पन्न यस परीक्षणले रकेट प्रणालीको कार्यक्षमता र स्थायित्व प्रमाणित गरेको छ । चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसन अन्तर्गतको व्यावसायिक रकेट निर्माण कम्पनीद्वारा विकसित ‘लङ मार्च-१२ बी’ नयाँ पुस्ताको पुनः प्रयोग योग्य रकेट हो ।
यो रकेट विशेष गरी व्यावसायिक न्यून-पृथ्वी कक्ष (लो अर्थ अर्बिट)का उपग्रह समूह तैनाथ गर्न डिजाइन गरिएको हो । यस रकेटमा पृथ्वी नजिकको कक्षमा २० टनसम्म पेलोड बोक्ने क्षमता रहेको छ । कम्पनीका अनुसार फायरिङ परीक्षणले रकेटको डिजाइनको सम्भाव्यता र विश्वसनीयता पूर्णरूपमा पुष्टि गरेको छ, जसले आगामी उडान परीक्षणका लागि बलियो आधार तयार गरेको छ । रासस/सिन्ह्वा