• १५ वैशाख २०८१, शनिबार

गुल्मीका भलामीलाई रहरले तान्यो च्याउखेतीमा

blog

च्याउ खेतीमा रमाउँदै गुल्मी तम्घासका कमला भलामी । तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, असार १६ गते । गुल्मी तम्घासकी कमला भलामीको दिनचर्या बिहान सुरु हुन्छ । उठेदेखि उहाँ च्याउ खेतीमा लाग्नुहुन्छ । उहाँका दिनचर्या यसरी नै बितिरहेको छ । उहाँले रेसुङ्गा नगरपालिका–८ खानीगाउँमा च्याउ खेती गर्दै आउनुभएको छ । भलामी फर्मको स्थापना गरी उहाँले व्यावसायिक रुपमा च्याउखेती गर्दै आउनुभएको हो । 

सुरुमा एउटा टनेलबाट च्याउखेती गर्न सुरु गर्नुभएका उहाँको अहिले २५ वटा टनेलमा च्याउ उत्पादन हुँदैछ । यस अघि उहाँ जापान हुनुहुन्थ्यो । जापानको मोह छोडेर अहिले आफ्नै ठाउँमा व्यावसायिक रुपमा च्याउ खेतीमा लाग्नुभएको हो । 

सदरमुकाममा  व्यावसायिक रुपमा च्याउखेती गर्नुभएका उहाँलाई धेरैले अनुदानका लागि खेती गरेको भन्दै आरोपसमेत लगाउन भ्याए । तर आफूले अनुदानका लागि नभई आफ्नो रहरका कारण च्याउखेतीमा लागेको भलामीको भनाइ छ । उहाँले भन्नुभयो, ‘मलाई धेरैले अनुदानका लागि खेती गरेको भनेर पनि आरोप लगाउँछन् । तर मैले अहिलेसम्म अनुदान लिएको छैन ।’


पहिलेदेखि नै कृषि गर्दै आएकाले यसलाई थप व्यवस्थित बनाएर आफूले च्याउ खेती गरेको भलामीको भनाइ छ । च्याउ खेती नै गरी आम्दानी गर्नुपर्छ भन्ने भन्दा पनि रहरले आफू च्याउ खेतीमा लागेको बताउँदै उहाँले च्याउ खेती फस्टाउँदै गएपछि व्यावसायिक रुपमा लागेको उल्लेख गर्नुभयो । 

भलामीले व्यवसायिक रुपमा च्याउखेती सुरु गरेको चार वर्ष भयो । पहिले सामान्यतयाः घरमा भैंसी, बाख्रा, कुखुरा र बङ्गुरपालन गर्नुहुन्थ्यो । आफ्नो चार रोपनी जग्गा र भाडाको छ रोपनी जग्गा गरी दश रोपनी जग्गामा उहाँले च्याउखेती गर्दै आउनुभएको छ । अहिले २५ वटा टनेलमा च्याउखेती गर्नुभएको छ । ‘बजार क्षेत्र भएकाले जग्गा भाडा महँगो छ ।’ भलामीले भन्नुभयो, –‘जग्गा भाडा मात्र वार्षिक एक लाख रुपियाँ तिर्नुपर्छ ।’ 

एउटा टनेल बनाउन एक÷डेढ लाख खर्च हुन्छ । प्रत्येक पटक च्याउखेती गर्दा नयाँ टनेल बनाउनुपर्छ । भलामीले भन्नुभयो, ‘त्यसकारण यो व्यवसाय केही खर्चिलो पनि छ । एक पटक बनाएको टनेलमा च्याउ उत्पादन गरिसकेपछि तरकारी खेती गरिन्छ । फेरि च्याउखेती गर्न नयाँ टनेल बनाउनुपर्छ ।’

आव ०७८/७९ मा मात्रै च्याउ खेतीका लागि टनेल बनाउन ३५ लाख रूपियाँ लगानी भएको उहाँ बताउनुहुन्छ । च्याउ सिजनमा खर्च कटाएर मासिक एकदेखि डेढ लाखसम्म आम्दानी हुने गरेको भलामीले बताउनुभयो । 

तर कहिलेकाँही च्याउका डल्ला नफलेर फाल्नुपर्ने अवस्था समेत आउने बताउनुहुन्छ । यस पटक मात्रै पाँच वटा टनेलमा च्याउ उत्पादन राम्रो भएन जसका कारण क्षति समेत व्यहोर्नु प¥र्यो । कृषिमा बीमा गर्ने नीति भए पनि च्याउखेतीको बीमा नहुँदा समस्या हुने गरेको भलामीको भनाइ छ । ‘पहिला बीमा गरिदिन्छौँ भनेर च्याउ खेती हेरेर पनि जानुभयो ।’ भलामीले भन्नुभयो ‘तर पछि भने बीमा गरिदिन मान्नुभएन ।’ यदि बीमा भइदिएको भए आफूलाई सहज हुने उहाँको भनाइ छ । 

पछिल्लो समय च्याउको प्रयोगमा समेत आकर्षण बढ्दै गएको पाइएको छ । भलामी भन्नुहुन्छ, ‘अहिले च्याउ खानुपर्छ भन्ने मानसिकता उपभोक्ताहरुमा बढ्दै गएको छ ।’ च्याउ विक्रीका लागि बजारको समस्या छैन । माग धान्न समस्या भइरहेको भलामीले बताउनुभयो । मासु खानुभन्दा च्याउ खानु शरीरका लागि लाभदायक हुने भन्दै च्याउको प्रयोगमा उपभोक्ताको आकर्षण बढेको हो ।


यहाँ उत्पादन भएको च्याउ यस जिल्लासँगै बुटवलसम्म पुग्छ । च्याउ आफूले होलसेलमा घरबाटै विक्री वितरण गर्दै आएको भलामीको भनाइ छ । व्यापारीहरु घरमै च्याउ खोज्न आउने गर्नुहुन्छ । त्यसैले पनि बजारको समस्या छैन । 

हावापानी अनुसार बाह्रै महिना च्याउ खेती गर्न सकिन्छ । च्याउ खेतीका लागि खुला र  अक्सिजन पर्याप्त आउने ठाउँ चाहिन्छ । विशेषगरी चिसो मौसममा च्याउ खेती राम्रो हुन्छ । टनेलमा तापक्रम मिलाइदिन सकियो भने १२ महिना च्याउखेती गर्न सकिन्छ । यहाँ च्याउ खेतीका लागि आवश्यक पर्ने कच्चा पदार्थहरु बुटवलदेखि र च्याउकाे बीउ काठमाडौंदेखि ल्याउने गरेको बताउनुभयो । 

च्याउखेती मात्र होइन उहाँले कुरिलो खेती पनि गर्नुभएको छ । सुरुमा २० हजारको बिरुवा लिएर कुरिलो खेती सुरु गर्नुभएका भलामीले अहिले दिनकै तीन किलोसम्म कुरिलो विक्री गर्ने गरेको बताउनुहुन्छ । यति मात्र होइन उहाँले ह्याचरी पनि सञ्चालन गर्नुभएको छ । जहाँ कुखुराका चल्ला उत्पादन हुने गर्छन् । उहाँले गाईपालन  गर्नुभएको छ ।

उहाँको फर्ममा नियमित रुपमा चार जनाले रोजगार समेत पाएका छन् भने च्याउका टनेल बनाउँदा तथा च्याउका बिरुवा लगाउँदा थप कामदारको आवश्यक पर्छ । च्याउखेतीलाई अझ बढाएर लैजाने योजना रहेको भलामीको योजना छ । विदेशको मोह त्यागेर आफ्नै गाउँठाउँमा व्यवसायिक रुपमा च्याउखेती गर्नुभएका भलामीले स्वदेशमा पनि कृषि गरेर राम्रो आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ ।