बिकास अधिकारी
पश्चिम नवलपरासी, असोज २१ गते । जिल्ला कारागार पश्चिम नवलपरासीबाट भागेका दुईसय ६० जना कैदीबन्दी अझै पनि कारागार फर्किएका छैनन् । हालसम्म ३५ जना महिलासहित २ सय ८६ जना कैदीबन्दी कारागार फर्किएका छन् । ४० जना महिलासहित दुईसय ६० जना कैदीबन्दी अझै कारागार बाहिर छन् ।
कारागारबाट भागेको तीन हप्ता बितिसक्दा समेत झन्डै आधा कैदीबन्दी कारागारमा नफर्किएपछि सुरक्षा निकायले कैदीबन्दी खोजीकार्य भइरहेको जानकारी दिएका छन् । स्थानीय सर्वसाधारणले चाडपर्वको बेला चोरी डकैतीका घटनामा समेत वृद्धि भएको भन्दै कारागारबाट भागेको एक महिनासम्म पनि भागेकामध्ये आधा सङ्ख्याका कैदीबन्दी कारागार बाहिरै हुनुले सुरक्षा चिन्ता बढाएको गुनासो गरेका छन् ।
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै भदौ २६ गते कारागारमा रहेका ५ सय ७६ जना कैदीबन्दीमध्ये ५ सय ४६ जना भागेका थिए । कारागारको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६ जना सुरक्षाकर्मीलाई छलफलका लागि भन्दै कारागारभित्र बोलाएर कैदीबन्दीहरूले आफूहरू रिहा हुन पाउनुपर्ने सर्त राखेका थिए । कारागारभित्र आगजनी गरेर प्रदर्शन गरेपछि सुरक्षा निकायले केही सेल अश्रुग्यास र हवाई फायर गरेको थियो ।
३० जना सजाय भुक्तान गरेर मात्र कारागारबाट बाहिरिने भन्दै कारागारमै बसेका थिए । कारागारमा ८७ महिला र ४८८ पुरुष गरी कुल ५७६ कैदीबन्दी थिए ।