• २१ असोज २०८२, मङ्गलबार

चिनियाँ प्रधानमन्त्री ली किआङको उत्तर कोरिया भ्रमणः सन् २०१९ पछि पहिलो उच्चस्तरीय यात्रा

blog

बेइजिङ, असोज २१ गते । चिनियाँ प्रधानमन्त्री ली किआङ आगामी बिहीबारदेखि शनिबारसम्म उत्तर कोरियाको भ्रमण गर्दै हुनुहुन्छ । यो सन् २०१९ पछि कुनै चिनियाँ नेताद्वारा हुने पहिलो उच्चस्तरीय भ्रमण हो ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री लीले उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सव समारोहमा भाग लिन सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । चीन र उत्तर कोरियाबिचको यो भेटलाई दुवै देशबिचको ‘परम्परागत मित्रता र घनिष्ठ सहयोगको निरन्तरता’ का रूपमा हेरिएको छ ।

चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख सहयोगी र आर्थिक सहारा रहँदै आएको छ । तर हालका वर्षमा उत्तर कोरियाली नेता किम जोङ उनले रुससँग सम्बन्ध सुदृढ गर्दै मस्कोलाई युक्रेन युद्धमा सहयोगका सङ्केत देखाउनुभएको छ । उत्तर कोरियाको सरकारी एजेन्सी केसिएनएका अनुसार रुसले यस वार्षिकोत्सव समारोहमा पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवलाई पठाउँदैछ ।

चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चीन र उत्तर कोरियाको सम्बन्धलाई ‘अटल रणनीतिक नीतिअन्तर्गत कायम, सुदृढ र विकास गर्नेतर्फ केन्द्रित’ रहेको उल्लेख गरिएको छ । ली किआङ चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका सात शीर्ष नेतामध्ये एक हुनुहुन्छ । उहाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपति सी जिनपिङपछि दोस्रो उच्च पदस्थ नेता मानिनुहुन्छ । 

७२ वर्षीय राष्ट्रपति सीले आफ्नो यात्रा तालिका सीमित गर्नुभएकाले हालका महिनामा उहाँले चीनको तर्फबाट विदेशी भ्रमणमा सक्रिय प्रतिनिधित्व गर्नुभएको छ । सी जिनपिङको उत्तर कोरियाको अन्तिम भ्रमण सन् २०१९ मा कोभिड-१९ महामारी अघि भएको थियो । यस पटक चीनका साथै भियतनाम र लाओसका शीर्ष नेता पनि समारोहमा सहभागी हुने भएका छन् ।

भियतनामका कम्युनिष्ट पार्टी महासचिव तथा राष्ट्र प्रमुख टो लामले पनि उत्तर कोरियाको वार्षिकोत्सव समारोहमा भाग लिन यात्रा गर्ने घोषणा गर्नुभएको छ । सन् २००७ पछि कुनै भियतनामी नेताको यो पहिलो उत्तर कोरिया भ्रमण हुनेछ ।

त्यस्तै, लाओसका राष्ट्रपति तथा पार्टी महासचिव थोङ्लोन सिसोलिथ पनि कार्यक्रममा सहभागी हुनुहुनेछ । गत वर्षदेखि चीन र उत्तर कोरियाबिचको उच्चस्तरीय सम्पर्क पुनः तीव्र बनेको छ । पोलिटब्युरो स्थायी समितिका अर्का सदस्य झाओ लेजीले यसै वर्षको अप्रिलमा प्योङयाङ भ्रमण गरी नेता किम जोङ उनसँग भेट गर्नुभएको थियो । 

त्यसपछि गत महिना किम जोङ उनले बेइजिङमा आयोजित चिनियाँ सैन्य परेडमा भाग लिनुहुँदा राष्ट्रपति भ्लादिमिर पुटिनलगायत अन्य नेतासँग पनि भेटघाट गर्नुभएको थियो । यस भ्रमणमार्फत चीनले उत्तर कोरियासँगको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ गर्दै क्षेत्रीय कूटनीतिमा आफ्नो प्रभाव पुनः बलियो बनाउन खोजेको विश्लेषकको धारणा छ । रासस/एपी