काठमाडौँ, असोज २१ गते । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्ध खेल्न नेपाली राष्ट्रिय फुटबल टोली मङ्गलबार भियतनाम प्रस्थान गरेको छ ।
नेपाली टोली भारतको नयाँ दिल्ली हुँदै भियतनाम गएको हो । छनोटको समूह ‘एफ’ मा रहेको नेपालले भियतनामसँग अक्टोबर ९ र १४ मा पहिलो र दोस्रो लेग खेल्ने तालिका छ ।
अक्टोबर १४ को दोस्रो लेग नेपालमा हुनुपर्ने थियो । तर, काठमाडौँको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल खेल्नका लागि एएफसीबाट अयोग्य ठहर भएपछि नेपालले यो खेल पनि भियतनामकै मैदानमा खेल्न लागेको हो ।
भियतनामसँगको खेलमा लागि आइतबार नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले अन्तिम २३ सदस्यीय खेलाडीको घोषणा गरिसक्नुभएको छ । बन्द प्रशिक्षणमा रहेका ३३ खेलाडीको सूचीबाट अन्तिम टोली सार्वजनिक गरिएको हो ।
समूहमा नेपालले लाओससँग २–१ र मलेसियासँग २–० गोलको हार खेपिसकेको छ । लगातार दुई हारसँगै नेपाल अङ्क तालिकाको अन्तिममा छ । समूहको शीर्ष टोली सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा छनोट हुने छ ।