• २१ असोज २०८२, मङ्गलबार

पहिरोमा ज्यान गुमाउनेका परिवारलाई दुई लाखका दरले राहत दिइने

blog

सूर्योदय नगरपालिकाको कार्यालय ।

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), असोज २१ गते । इलामको सूर्योदय नगरपालिकाले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपियाँका दरले राहत दिने भएको छ ।

नगरले बाढी पहिरोमा परी नगर क्षेत्रभित्र ज्यान गुमाउनेका परिवारलाई तत्काल दुई लाख रुपियाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरले एकै परिवारका थप सदस्यको ज्यान गएको भएमा प्रतिसदस्य थप एक लाख रुपियाँका दरले रकम प्रदान गर्ने निर्णय गरेको नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । 

नगर प्रमुख तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गर्दै विपतका कारण विस्थापित भएका घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने र आवश्यक राहत सामग्री तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । 

नगरले उद्धार र राहतका लागि १४ वटै वडालाई सक्रिय गराएको छ । बैठकमा विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउन, जोखिमयुक्त क्षेत्रको पहिचान तथा दीर्घकालीन पूर्वतयारी योजनाबारे पनि विस्तृत छलफल गरिएको थियो । समितिको बैठकले आगामी दिनमा उद्धार तथा राहत संयन्त्रलाई सुदृढ बनाउँदै स्थानीयस्तरमै तत्काल प्रतिक्रिया दिने प्रणाली विकास गर्ने प्रतिबद्धता जनाएको छ ।

सूर्योदय १ मानेभञ्ज्याङमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको थियो । पहिरोमा परी मानेभञ्याङका ६५ वर्षीय मनमाया क्षेत्री, सोही ठाउँका १० वर्षीय बस्मिका क्षेत्री, दोलखा जिल्लाका ४५ वर्षीय दीप बस्नेत, दोलखाकै ४४ वर्षीय भवानी बस्नेत र दोलखाकै १२ वर्षीय दिव्या बस्नेतको मृत्यु भएको थियो । उहाँहरु दसैं मनाउन आफन्तकोमा आउनुभएको थियो ।

यस्तै, सूर्योदय नगरपालिकामा वितरण हुँदैआएको खानेपानीमा ठुलो असर पहिरोले गरेपछि नगर क्षेत्रमा खानेपानी अभाव भएको छ । सूर्योदयका उपप्रमुख दुर्गाकुमार बरालले खानेपानीका पाइप धेरै स्थानमा बगाएका कारण मर्मत भइरहे पनि खानेपानी सुचारु हुन समय लाग्ने जानकारी दिनुभयो । 

सूर्योदय नगरभित्र सबैभन्दा बढी सडकमा क्षति पुगेको छ । सूर्योदय भएर माइजोगमाई जाने मयूखोलाको कल्भर्ट बाढीले बगाएको छ । फिक्कल नयाँबजार सडकका धेरै स्थानमा पहिरोले बगाएको छ । सूर्योदय नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन शाखाका संयोजक राजकुमार लिम्बूले सबै ठाउँका अवरोध हटाएर यातायत सञ्चालन गर्न समय लाग्ने बताउनुभयो । उहाँले तत्कालका लागि वैकल्पिक मार्गको खोजी गरी यातायात सुचारु गरी दीर्घकालीन रुपमा यातायात सञ्चालनका लागि पहल थाल्नुपर्ने बताउनुभयो ।