• २० असोज २०८२, सोमबार

तोरीपानीका गिरीको रहरलाग्दो कृषि कर्म

blog

पाखोबारीमा फलेको टिमुर टिप्दै इवगिरी सन्यासी । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  

म्याग्दी, असोज २० गते । तीन दशकभन्दा लामो शिक्षण पेसाबाट सेवानिवृत्त हुनुभएका बेनी नगरपालिका ९ तोरीपानीका इवगिरी सन्यासीले कृषि कर्म अँगाल्नुभएको छ । कृषि कर्मबाट घरखर्ची चलाउनुका साथै उहाँले राम्रो आम्दानी गर्न थाल्नुभएको छ । शिक्षकबाट उहाँले अहिले गाउँमा व्यावसायिक किसानको परिचय बनाउनुभएको छ ।  

उहाँले भन्नुभयो, ‘‘३३ वर्ष विद्यालयको कक्षा कोठामा बिताएँ । अहिले मेरो कर्मक्षेत्र बदलिएर कृषि क्षेत्र मेरो विद्यालय जस्तो बनेको छ । बिहानदेखि बेलुकासम्म हाम्रो परिवारले कृषिमै परिश्रम गरेका छौं। कृषि क्षेत्रमा सफल किसान बनेर समाजमा उदाहरण देखाउनु छ । अहिलेका नयाँ पुस्ताको विदेश मोह छ । कृषि कर्ममा उज्वल भविष्य छ भनेर समाजमा प्रमाणित गर्नु छ ।’’  

स्थानीय गलेश्वर माध्यमिक विद्यालयबाट गत जेठ २२ गतेदेखि सेवानिवृत्त हुनु्भएका ६० वर्षीय गिरीको दैनिकी बदलिएको छ । बिहान दश बजेदेखि चार बजेसम्म चक र डस्टरका साथ कक्षा कोठामा पढाउने उहाँको दिनचर्या हिजोआज खेतबारीमा बित्ने गरेको छ । ‘‘मेरो कृषि फर्म अब विद्यालय जस्तो बनेको छ,’’ उहाँले भन्नुभयो । उहाँले एमनसिंह सुन्तला उत्पादन तथा कृषि पशुपंक्षी फर्म दर्ता गरी व्यावसायिक कृषि पेसा गर्नुभएको छ । 

उहाँले घरवरपर रहेको करिब २१ रोपनी खेतबारीमा फलफूल,ताजा तरकारी, माछापालन र टिमुर खेती गर्नुभएको छ । शिक्षण पेसाबाट निवृत्त भएपछि बाँकी जीवन कृषि कर्ममा बिताउने उद्देश्यले पाँचवर्ष अघिबाट सुरु गरेको कृषिखेतीलाई अहिले विस्तार गरेको उहाँले बताउनुभयो । 

सरकारी अनुदान र व्यक्तिगत लगानी गरेर गिरीले करिब २० लाख रुपियाँ लगानी गर्नुभएको छ । बाँझो रहेको पाखोबारीमा उहाँले टिमुर खेती गर्नुभएको छ । यतिखेर सन्यासीको पाखोबारीमा फल दिने टिमुरका एकसय बोट छन् । टिमुरको दाना पाकेर बोट नै राताम्मे देखिएका छन् । 

उहाँले भन्नुभयो, ‘‘पाखोबारीमा लगाएको टिमुर पाक्न थालेको छ । अब केही दिनमा टिप्ने हो । यहाँको टिमुर राम्रो भएकाले जर्मनी देशसम्म पुग्छ । प्रतिकेजी तीन हजार पाँचसय रुपियाँमा घरबाट नै बिक्री हुन्छ ।’’ यसपालि करिब दुईमुरी टिमुर उत्पादन हुने उहाँले बताउनुभयो । 

गिरीले सुन्तला खेती पनि गर्नुभएको छ । दुईसय पचास बोट लगाएकोमा यो वर्षदेखि सुन्तलाका एकसय बोटले फल दिन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘दुई तीन वर्षपछि सबै बोटमा सुन्तला फल्नेछ । सुन्तला बिक्री गरेर वार्षिक रुपमा दशदेखि १५ लाख रुपियाँसम्म आम्दानी गर्ने मेरो लक्ष्य छ ।’’ 

दशलाख रुपियाँ सरकारी अनुदान र पाँचलाख रुपियाँ व्यक्तिगत लगानी गरेर पन्ध्रलाख रुपियाँ खर्चिएर उहाँले चिस्यानगृह समेत बनाउनुभएको छ । उत्पादन भएको कृषि उपजलाई चिस्यानगृहमा राखेर बेमौसममा निकालेर बिक्री गर्ने उहाँको लक्ष्य छ । 

दुई वटा पोखरी निर्माण गरेर उहाँले माछापालनसमेत थाल्नुभएको छ । माछापालनबाट वार्षिक रुपमा पचास हजार रुपियाँ आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । 

छोराबुहारी र श्रीमती गरेर चारजनाले दैनिक रुपमा कृषि फर्ममा काम गर्ने गरेको उहाँले बताउनुभयो । छोरा मधु गिरीले स्नातक पास गरेपछि कृषि कर्ममा बुबालाई साथ दिन काठमाडाैंबाट घर फर्किनुभएको छ । केही साथीहरु विदेश गए कोहीले यहीँ सरकारी जागिर पनि खाएका छन् छोरा गिरीले भन्नुभयो, ‘‘जागिर खानुभन्दा बुबाले थालेको कृषि पेसालाई साथ दिँदा आत्मसम्मान मिलेको छ।’’

बेमौसमी तरकारी उत्पादनका लागि पाँचवटा प्लास्टिक घर(टनेल)  निर्माण गर्नुभएको छ । यो सिजनमा गोलभेंडा बिक्री गरेर करिब दुईलाख रुपियाँ आम्दानी गरेको उहाँले सुनाउनुभयो । अहिले सबै कृषि उत्पादन बिक्री गरेर वार्षिक रुपमा ५ देखि ८ लाख रुपियाँसम्म आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । 

तरकारी उत्पादन गर्नसकेमा बिक्रीमा कुनै समस्या छैन उहाँले भन्नुभयो, ‘‘गाउँदेखि बजारसम्मको सडक सहज भएकाले उत्पादन भएको तरकारी बेनी सम्म पुर्‍याउन समस्या छैन । बेमौसममा उत्पादन भएको तरकारी फर्मबाट बिक्री हुने गरेको छ ।’’ गोलभेडा,बन्दागोभी,काउली,आलु,साग लगायतका तरकारीहरु उत्पादन गरेको उहाँले बताउनुभयो । 

‘‘सेवानिवृत्त जीवनलाई उद्यममा लगाउने सोचका साथ कृषिलाई रोजेको उहाँले बताउनुभयो । सफल कृषक बनेर कृषि क्षेत्रमा पनि भविष्य छ भन्ने उदाहरण देखाउन खोजेको छु,’’ उहाँले भन्नुभयो । उहाँले नयाँ पुस्तालाई कृषि र पशुपालनमार्फत गाउँमै स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश पनि आफूले दिन चाहेको बताउनुभयो । 

कृषक सन्यासी आफ्नो खेतबारीमा मात्र काम गर्नुहुँदैन छिमेकी किसानहरुको खेतबारीमा समेत पुगेर आफूले जानेको ज्ञान र सीप सिकाउने गर्नुहुन्छ ।