- देशभर विद्युत् आपूर्ति व्यवस्थित बनाउने तयारी, बाढी–पहिरोले क्षतिग्रस्त संरचनाको मर्मतमा जोड
- नेपाल विद्युत् प्राधिकरणबाट दैनिक एक हजार मेगावाट विद्युत् निर्यात, १५ अर्ब बराबरको आम्दानी
काठमाडौँ, असोज २१ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गर्नुभएको छ।
काठमाडौँको स्युचाटारस्थित केन्द्रको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले देशभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात र बाढी–पहिरोबाट क्षति भएका आयोजनाहरूका बारेमा जानकारी लिनुभएको थियो।
देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ती जाने गुनासो बढ्दै गएको उल्लेख गर्दै उनले विद्युत् प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिगत तथा प्रविधिक सुधार आवश्यक रहेको बताउनुभयो।
मन्त्री घिसिङले बाढी र पहिरोले क्षति पुर्याएका संरचनाको तत्काल मर्मत गरी सेवा सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो। उहाँले भोल्टेज उतारचढाव र वत्ति जाने समस्या समाधानलाई उच्च प्राथमिकतामा राखी, मातहतका कार्यालयहरूलाई तयारी अवस्थामा रहन आग्रह गर्नुभयो।
उहाँले विद्युतगृह, प्रसारण लाइन र सबस्टेसनहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न, मर्स्याङ्दी करिडोर २२० केभी र हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको निर्माणमा विशेष ध्यान दिन र आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा अग्रिम तयारी गर्न निर्देशन दिनुभयो।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दनकुमार घोषले अनुगमन टोलीलाई देशव्यापी विद्युत् आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था र चुनौतीबारे जानकारी गराउनुभएको थियो ।
कार्यकारी निर्देशक सिलवालले बाढी–पहिरोले क्षति पुर्याएका संरचनाको मर्मत गरी सेवा पुनः सञ्चालनका लागि टोलीहरू पूर्ण तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।
१५ अर्ब बराबरको आम्दानी
कार्यकारी निर्देशक सिलवालका अनुसार, देशभित्र उपभोग गरेपछि बाँकी रहेको औसत एक हजार मेगावाट विद्युत् दैनिक रूपमा निर्यात भइरहेको छ। चालू आर्थिक वर्ष २०८२र८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपियाँ बराबरको विद्युत् निर्यात भइसकेको छ।
विद्युत् भारतको ऊर्जा विनिमय बजार अन्तर्गत डेअहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धात्मक दरमा बिक्री भइरहेको छ। साथै, मध्यकालीन द्विपक्षीय सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा पनि विद्युत् बिक्री भइरहेको छ।
भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ। भारतसँगको व्यापार भारतीय रुपैयाँ र बङ्गलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने भएकोले, नेपालले विद्युत् व्यापारबाट दुबै मुद्रामा आम्दानी गरिरहेको छ। नेपाल विद्युत् प्राधिकरणले हालसम्म ११६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति पाइसकेको छ।