राधा लुइटेल
फिदिम, असोज २१ गते । बाढीले डाइभर्सन र बाटो बगाएको पाँचथरस्थित फिदिम फालौट मार्गको फेमे खोलामा नेपाली सेनाको फिदिमस्थित वीरदल गणले फड्के निर्माण गरेको छ ।
फड्के निर्माण गरेसँगै पैदल यात्रीलाई सहज भएको छ । सेनाले मङ्गलबार फेमे खोलामा काठको फड्के बनाएको थियो।
फेमेखोलामा असोज १८ गते आएको बाढीले सडक र डाइभर्सन बगाएसँगै यो सडकमा आवागमन ठप्प थियो । बाटो बन्द भएपछि रोकिएका पैदल यात्रीको सुविधालाई मध्यनजर गर्दै सेनाले यहाँ काठको फड्के बनाइएको फिदिम स्थित नेपाली सेनाको वीरदल गणका प्रमुख किशोर अधिकारीले जानकारी दिनुभयो ।
फेमेको पक्की पुल २०८१ साल असोज १२ गतेको बाढीले बगाएको थियो । त्यसपछि बनाइएको डाइभर्सन सहित वारिपारिको सडक असोज १८ गतेको बाढीले क्षतिग्रस्त बनाएपछि रोकिएका पैदल यात्रीलाई खोलो तर्न सजिलो होस भनेर सेनासँग काठको फड्के बनाउन आग्रह गरिएको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले बताउनुभयो ।
फेमेमा बाढीले बगाएका बाटो र डाइभर्सन बनाउन केहि दिन लाग्ने पुर्वाधार विकास कार्यालय पाँचथरका सूचना अधिकारी मुकेशराज साहले बताउनुभयो ।
नेपाली सेनाले काठको पुल बनाएपछि सवारी नचल्दा रोकिएका र खोला तर्न नसकेर अभर परेका यात्रु धमाधम गन्तव्य तर्फ जान थालेका छन । जसबाट आफूहरूलाई सजिलो भएको फालेलुङ ७ बाट फिदिमतर्फ आउँदै गरेका भीम मगरले बताउनुभयो ।
बाढीले बाटो बिगारेपछि खोला पारी रोकिएका आफु जस्ता सयौं पैदल यात्री फड्के बनेपछि खोला तरेर गन्तव्यतर्फ प्रस्थान गरेको उहाँको भनाइ छ ।
नेपाली सेनाको फिदिम स्थित वीरदल गणबाट यहाँ पुल निर्माण गर्न खटेका सेनालाई स्थानीयले पनि सघाएका थिए । स्थानीय र जनप्रतिनिधिसँगको समन्वयमा यहाँ काठको पुल निर्माण गरिएको गणपति किशोर अधिकारीले जानकारी दिनुभयो ।