इङ्गो स्वान एक कलाकार, लेखक र निपुण अन्तज्र्ञानी थिए । हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ स्वान लामो समयदेखि दूरवर्ती दृष्टि (रिमोट भ्युइङ) का जनक हुन् तथा प्रेरणाका स्रोत पनि । स्वानले दूरवर्ती दृष्टिको मूलपत्र विकास गरे र पहिलो पटक सन् १९७१ मा दूरवर्ती दृष्टि प्रयोग गरेका थिए ।
सौर्यमण्डलका पिण्डको वस्तुस्थिति तथा सोभियत सङ्घ, चीनका सैन्य गतिविधि र गोप्य ठेगानाको जानकारी अमेरिकामै बसेर दिन सक्ने दूरवर्ती दृष्टि क्षमता स्वानमा थियो । उनका कुराले वैज्ञानिकसमेत अचम्भित परे ।
सन् १९३३ सेप्टेम्बर १४ मा अमेरिकाको कोलोराडो रकिजमा जन्मिएका स्वानले सन् १९५५ मा बायोलोजीमा स्नातक उत्तीर्ण गरे । त्यसपछि कोरियामा उनले कमान्डर अफ दी प्यासिफिक फोर्समा काम गरेपछि सन् १९५८ देखि संयुक्त राष्ट्रसङ्घमा सन् १९६९ सम्म विभिन्न ओहदामा रहेर काम गरेका थिए । सन् १९७० मा स्वान पूर्णकालीन रूपमा पारासाइकोलोजिकल तथा साइकोइनर्जेटिक्स अनुसन्धानमा लागे र यी अग्रणी विज्ञानमा एक मान्यताप्राप्त नवप्रवर्तक अनुसन्धानकर्ता कहलिए । स्वान एक सिद्धहस्त कलाकार पनि थिए । उनका केही कृति स्मिथसोनियनको नेसनल एयर एन्ड स्पेस म्युजियममा राखिएको छ ।
अमेरिकी सेनाको ‘स्टार गेट साइकिक स्पाइङ प्रोग्राम’ को आधार बनेको स्ट्यानफोर्ड रिसर्च इन्स्टिच्युटमा रहेर स्वानले दूरवर्ती दृष्टि अनुसन्धानमा उल्लेखनीय योगदान गरेका थिए ।
सन् १९७१ मा एक भोजका बेला यस्तो परीक्षणात्मक फोटोग्राफी सत्रमा सहभागी भए जसमा फोटोग्राफरहरूले अँध्यारो कोठामा सहभागीको दृश्यात्मक सङ्केत खिच्ने कोसिस गरेका थिए । के थाहा भयो भने स्वानको फोटोमा उनको टाउको माथि प्रकाशको एउटा गोला देखियो । यो र यस्तै खालका सामाजिक घटनाले उनलाई आफूमा अलौकिक क्षमता भएको महसुस भयो ।
स्वानले अमेरिकी गुप्तचर संस्था सिआइएका लागि गोप्य कार्यक्रममा योगदान गरेका थिए । उनले बृहस्पति ग्रह र चन्द्रमाको अवस्थाका बारेमा समेत सिआइएलाई जानकारी दिए । बृहस्पति ग्रहका बारेमा स्वानले भनेका सबै कुरा पछि त्यहाँ यान पठाउँदा सही भएको थाहा भयो । उनले सन् १९७३ मा बृहस्पति ग्रह, सन् १९७४ मा बुध ग्रह, सन् १९७४ मा चन्द्रमा र सन् १९७५, १९७६, १९८४ मा मङ्गल ग्रहको वस्तुस्थिति दूरवर्ती दृष्टिद्वारा बयान गरेका थिए । स्वानले भनेका सबै कुरा अन्तरिक्षयानको अन्वेषणद्वारा पुष्टि भएको थियो ।
स्वानले भनेका थिए, बृहस्पति ग्रहको वरिपरि रिङ छन् । हाइड्रोजन, हिलियम र क्रिस्टलहरूले बनेको एक घना वायुमण्डल छ । त्यहाँ भयङ्कर आँधी आइरहेको छ र चट्याङ परिरहेको छ । त्यहाँ पहाड पछि छन् । वैज्ञानिकले बृहस्पतिको वरिपरि रिङ रहेको दाबीलाई काल्पनिक भनेर खारेज गरिदए तर सन् १९७९ मा अन्तरिक्षयान भोयजरले बृहस्पतिनजिक गएर त्यहाँ वास्तवमै रिङ रहेको पुष्टि ग¥यो । स्वानले भने झैँ बृहस्पतिको वायुमण्डलको संरचना मिल्न गयो, त्यहाँ ज्वालामुखी सक्रिय रहेको समेत स्पष्ट भयो । तथापि त्यसअघि सन् १९६० को दशकमा सोभियत खगोलशास्त्री सार्गे विसेसवात्स्कीले बृहस्पतिमा रिङ भएको परिकल्पना गरेका थिए ।
सोभियत सङ्घले असाधारण मानसिक क्षमतासम्बन्धी साइकोट्रोनिक्स अनुसन्धानमा वार्षिक १० लाख डलरभन्दा बढी खर्चन लागेको जानकारीमा आएपछि सिआइएले सन् १९७० मा स्टार गेट कार्यक्रम सुरु गरेको थियो । सिआइएको यस स्टार गेट कार्यक्रममा रहेर स्वानले आफ्नो दूरवर्ती दृष्टि क्षमता प्रयोग गरेर क्यालिफोर्नियाको पालो एल्टोबाटै तत्कालीन सोभियत सङ्घको जासुसी गर्दथे । एक पटक त उनले अफ्रिकी देश जायरको घना जङ्गलमा खसेको सोभियत जासुसी विमानलाई आफ्नो दूरवर्ती दृष्टिद्वारा पत्ता लगाए । जबकि सो विमान अब खोज्न नसकिने निष्कर्षमा अमेरिकी रक्षा विभाग पुगिसकेको थियो ।
स्वानले सिआइएका लागि काम गर्दै सोभियत सङ्घ र चीनका कतिपय गोप्य सैन्य अखडाको जानकारी दिए । जो पछि भूउपग्रहका तस्बिरबाट प्रमाणित भएका थिए ।
एक पटक आफ्नो मानसिक क्षमताबाटै टाढा राखिएको एक सिलबन्द तथा शून्य बट्टामा नियन्त्रित तापक्रम परिवर्तन गर्न सक्षम देखिए । यो कुरा सन् १९७३ को हो । उनको यस्तो क्षमता देखेर परीक्षणकर्ता पारासाइकोलोजिस्ट डा. गार्टुड स्माडर छक्क परेका थिए । उनमा यस्तो क्षमता देखेर टाइम पत्रिकाले लेखेको थियो, मानव मस्तिष्क आफ्नो शक्तिलाई दिमागको सीमामा मात्रै सीमित नराखेर परसम्म लैजान सक्षम छ । पत्रिकाले चिन्ता पनि व्यक्त ग¥यो, “कहीँ स्वानको शक्ति परमाणु बमभन्दा पनि खतरनाक त छैन ।”
–युवामञ्च