• २० असोज २०८२, सोमबार

प्रशासनद्वारा सवारी साधनको छड्के अनुगमन

blog

यात्रुसँग बढी भाडा लिएको गुनासोपछि प्रमुख जिल्ला अधिकारी छड्के चेक गर्नुहुँदै । तस्बिरः सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट,असोज २० गते । चाडपर्वको मौका छोपेर बढी भाडा लिएको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सवारी साधनको छड्के अनुगमन सुरु गरिएको छ ।

सोमबार बिहानदेखि चरीकोटमा सादा पोशाकमा खटिनुभएका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महतो, सशस्त्र प्रहरी कार्यालय दोलखा प्रमुख सञ्जय अधिकारी, अनुसन्धान कार्यालय दोलखाका प्रमुख धिरज बानिया र ट्राफिक प्रहरी कार्यालय दोलखा प्रमुख ठाकुर भट्टराईले यात्रु बनेर सार्वजनिक यातायातको गाडीभाडा अनुगमन गर्नुभएको थियो ।

अनुगमनको क्रममा गाडी सहचालकलाई प्रमुख जिल्ला अधिकारी दाहालले काठमाडौंसम्मको भाडा कति भनेर प्रश्न गरेपछि गाडीका सहचालकले प्रतिव्यक्ति एक हजार लिनेगरेको बताएका थिए । सहचालकले भाडा सोध्ने प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ भन्ने नचिनेपछि उहाँलाई बढी भाडा भन्नुभएको थियो । 

दाहाल गाडीमा चढेर अरु यात्रुहरुलाई पनि सहचालकले कति भाडा लिएको छ भनेर खोजी गर्दा सबै यात्रुहरूलाई प्रतिव्यक्ति एक हजारका दरले भाडा लिइएको पाइएको थियो । उहाँले तत्काल बढी भाडा फिर्ता गर्न लगाएर ट्राफिक प्रहरीमा जरिवाना काट्न लगाउनुभएको थियो । यात्रुसँग प्रतिव्यक्ति एक हजारका दरले भाडा असुलिरहेको पाइएपछि एक दर्जनभन्दा बढी सवारी साधनलाई कारबाही गरिएको छ । 

तोकिएभन्दा बढी भाडा लिने सवारी साधनलाई जरिवाना तिराएर कारबाही गरेको छ । यात्रुहरूको बढी भाडा फिर्ता  गराइएको ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्टराईले बताउनुभयो ।

चरीकोटबाट काठमाडौँसम्मको बसभाडा पाँचसय ३० सुपर बसभाडा ६ सय ५० र इभी र सुमोको सातसय ५० रुपियाँ छ । चाडपर्वको मौका छोपी केही सवारी साधनले एक हजार रुपियाँसम्म लिने गरेको गुनासो आएको थियो । 

चाडपर्वमा आवतजावत गर्ने यात्रुहरूसँग बढी भाडा लिनसक्ने भन्दै कार्यालयले विभिन्न ठाउँमा छड्के चेकपोष्ट राखेको छ । लामो दूरीका सवारी साधनलाई केन्द्रित गर्दै ट्राफिक प्रहरीले चेकिङ गर्दैआएको छ । कारबाहीमा पर्नेमा अधिकांश बस, ईभी गाडी रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

चाडपर्वलाई लक्षित गर्दै यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले दोलखाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । कुनै समस्या परेमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।