• ७ वैशाख २०८१, शुक्रबार

हङकङ चीनमा फिर्ता भएको २५ वर्ष पूरा

blog

काठमाडौं, जेठ १६ गते । कहिले पनि घाम नअस्ताउने भनेर चिनिएको देश बेलायतबाट चीनले आफ्नो अभिन्न भूभाग हङकङ फिर्ता लिएको २५ वर्ष पूरा भएको छ ।
‘एक देश, दुई व्यवस्था’को सिद्धान्तमा चीनले हङकङ सन् १९९७ जुलाई १ मा मुख्य भूमिमा पुनः गाभेको थियो । 

सन् १९८४ मा चीन बेलायतको संयुक्त घोषणानुसार बेजिङले हङकङको अत्यधिक स्वायत्ततालाई करिब ५० वर्षसम्म मान्ने प्रतिबद्धता गरेको थियो । मुख्य चीनमा पुनः फिर्ता गरिने एकरात अघि बेलायतका युवराजाधिराज चार्ल्स, बेलायती प्रधानमन्त्री टोनी ब्लेयर र हङकङका २८ औँ र अन्तिम गभर्नर क्रिस प्याटेन बिदाइ कार्यक्रममा सरिक हुँदै १५६ वर्षको बेलायती उपनिवेश हङकङबाट समाप्त भएको घोषणा गर्नुभएको थियो ।
२५ वर्ष पुगेको विशेष समारोहको लागि शुक्रबार चिनियाँ राष्टपति सी चिनपिङले विशेष रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । आज बिहीबार उहाँ बेजिङबाट हङकङ पुग्ने कार्यक्रम छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनापछि मुख्य भूमि छोडेर उहाँ पहिलो पटक यस कार्यक्रममा जान लाग्नुभएको सीएनएनले जनाएको छ ।
हङकङका मुख्य सडकमा चिनियाँ र हङकङको राष्ट्रिय झण्डा फहराइएका र रातो कार्पेट बिछ्याइएका छन् ।

प्रतिबद्धतानुसार आधा समय सम्पन्न भएको यस समारोहमा हङकङमा नयाँ प्रमुखलाई शपथ खुवाउने कार्यक्रम पनि छ । नयाँ प्रमुख पूर्व प्रहरी प्रमुख रहिसक्नुभएका जोन ली हुनुहुन्छ ।


यसैबीच, राष्ट्रपति सी सत्तामा पुग्नुभएको एक दशक पुग्न एक महिना मात्र बाँकी रहँदा यस्तो समारोहका कारण उहाँको तेस्रो कार्यकालको लागि सहज हुने बताइएको छ । 
दुईदिने राजकीय भ्रमणमा राष्ट्रपति सीको राजनीतिक विजय भएको घोषणाको रुपमा लिन सकिने समाचारमा उल्लेख छ ।

सन् २०१९ मा भएको हङकङ प्रदर्शनपछि उहाँले राष्ट्रिय सुरक्षा कानुन ल्याउनुभएको थियो । यो कानुन लागू भएपछि त्यहाँ हुने कुनै पनि प्रकारका सरकारविरोधी आन्दोलन, पृथकतावादी आन्दोलन, आतङ्ककारी गतिविधि वा विदेशी शक्तिसँग मिलेर राष्ट्रद्रोहका गतिविधि गरिएको भन्ने बेजिङको निष्कर्ष निस्केमा जन्मकैद हुने व्यवस्था गरिएको अलजजिरामा उल्लेख छ ।


राष्ट्रिय स्वाधीनताको लागि ल्याइएको यस्तो कानुनले त्यहाँ स्थायी शान्ति ल्याएको बताइन्छ यद्यपि त्यहाँ सो कानुनका कारणले वाक स्वतन्त्रतामा केही बन्देज लागेको छ । चीनले आफ्नो भूभाग फिर्ता लिएपछि कृत्रिम टापु चेक लाप कोकमा  अन्तर्राष्ट्रिय विमानस्थलमा बनाएको थियो । यसअघि ७० वर्षसम्म काइ टाकमा विमानस्थल सञ्चालनमा थियो । 

यसैबीच, बीबीसीका अनुसार हङकङमा रहेका नागरिकहरु चिनियाँ हुन् कि हङकङबासी भन्ने विषयमा भिडियो समाचार प्रकाशित छ । सन् १९९७ जुलाई १ तारिखमा बेलायतले चीनलाई हङकङ पुनः सुम्पेपछि सोही रातदेखि त्यहाँ नागरिकले चिनियाँ परिचय पाएका थिए । तर केही वर्षदेखि विभिन्न खालका आन्दोलनले चिनियाँ पहिचानबारे हङकङबासीमा केही अन्योल कायम रहेको बताइएको छ ।

चिनियाँ नागरिकको पहिचान राष्ट्रिय पहिचान र हङकङबासीको पहिचानले  क्षेत्रीय वा शहरी पहिचानको रुपमा स्थापित भएको सन् १९९७ मा जन्मेका त्यहाँका बासिन्दाले बीबीसीलाई बताएको समाचारमा उल्लेख छ ।

यस्तै, सिन्ह्वाका अनुसार सन् १९९७ मा हङकङको कुल गार्हस्थ उत्पादन १।३७ अरब हङकङ डलर रहेकोमा २४ वर्षपछि सन् २०२१ मा २।८६ अरब हङकङ डलर पुगेको छ । 
पोर्चुगलबाट केही वर्षअघि एक चीन र दुई व्यवस्था अनुसार फिर्ता लिइएको मकाउ, हङकङ र मुख्य चीनबीच त्रिकोणात्मक रुपमा पुल बनाइएको छ ।
–उपेश महर्जन (सीएनएन, बीबीसी, अल जजिरा, सिन्ह्वाको सहयोगमा)