• ८ कात्तिक २०८२, शनिबार

इस्तानबुल वार्तामा अफगानिस्तान-पाकिस्तानद्वारा युद्धविराम दृढ पार्ने सहमति

blog

इस्तानबुल, कात्तिक ८ गते । अफगानिस्तान र पाकिस्तानका वरिष्ठ वार्ताकार शनिबार इस्तानबुलमा पछिल्ला रक्तपातपूर्ण झडपपछि दुवै देशबिचको सीमामा स्थायी युद्धविराम कायम गर्ने उद्देश्यका साथ सुरक्षा सम्बन्धी मुद्दामा छलफल गर्दै छन् ।

दुई हप्ता अघि मध्य काबुलमा भएको विस्फोटपछि सुरु भएको झडपमा दर्जनौँ मानिसको ज्यान गएको थियो, जसमा सर्वसाधारण पनि परेका थिए । उक्त घटनापछि तालिबान सरकारले पाकिस्तानमाथि सीमापार आक्रमण गरेको आरोप लगाएको थियो । इस्लामाबादले भने अफगान भूमिमा रहेका सशस्त्र समूहविरुद्ध ‘सटीक आक्रमण’ गरेको दाबी गरेको थियो ।

त्यसपछिका भिडन्तमा सैनिक र सर्वसाधारणको मृत्यु भएपछि दुवै देशले प्रारम्भिक ४८ घण्टाको युद्धविराम घोषणा गरेका थिए, तर त्यो दुई दिनमै भङ्ग भयो । त्यसपछि कतार र टर्कीको मध्यस्थतामा दोहामा भएको वार्तापछि दोस्रो युद्धविराम कायम गरिएको थियो, यद्यपि यसका सर्त अस्पष्ट छन् ।

शनिबारको इस्तानबुल वार्तामा दोहामा घोषित स्थिरतालाई कायम राख्ने संयन्त्रबारे ठोस रूपरेखा तयार पारिने अपेक्षा गरिएको छ । यद्यपि वार्ता कहिले र कहाँ सुरु हुने भन्ने स्पष्ट गरिएको छैन । अफगान पक्षको नेतृत्व उप-आन्तरिक मन्त्री हाजी नाजिबले गर्दै हुनुहुन्छ भने पाकिस्तानले आफ्नो प्रतिनिधिमण्डलको विवरण सार्वजनिक गरेको छैन ।

तालिबान सरकारले आफ्नो देशको क्षेत्रीय अखण्डता सुनिश्चित गर्ने लक्ष्य दोहोर्‍याएको छ । इस्लामाबादका लागि भने वार्ताको प्रमुख उद्देश्य अफगान भूमिबाट पाकिस्तानतर्फ फैलिँदै गएको आतङ्कवादको खतरा नियन्त्रण गर्नु रहेको विदेश मन्त्रालयका प्रवक्ता ताहिर हुसेन अन्द्राबीले बताउनुभएको छ ।

सुरक्षा विषय दुवै देशबिचको सम्बन्धमा दीर्घकालीन तनावको केन्द्रविन्दु रहँदै आएको छ । पाकिस्तानले अफगानिस्तानमा रहेका पाकिस्तानी तालिबान (टिटिपी) लडाकूलाई काबुल सरकारले संरक्षण दिएको आरोप लगाउँदै आएको छ । उक्त आरोपलाई काबुलले अस्वीकार गर्दै आएको छ । इस्लामाबादले तालिबान अधिकारीलाई आफ्नो भूमिमा रहेका यस्ता लडाकूमाथि नियन्त्रण पुनः स्थापना गर्न माग गरेको थियो । 

यसै प्रसङ्गमा अफगानिस्तानका विश्लेषक इब्राहिम बाहिसले भन्नुभएको छ, “इस्तानबुलको बैठक अत्यावश्यक छ, किनभने पाकिस्तानलाई अफगानिस्तानभित्रका पाकिस्तान विरोधी तत्वको गतिविधिबाट चिन्ता छ । सम्भावित संयन्त्रमा दुवै देशबीच गुप्तचर साझेदारी हुन सक्छ ।” उहाँका अनुसार पाकिस्तानले टिटिपी लडाकू वा कमान्डरको स्थान सम्बन्धी सूचना दिने छ र अफगानिस्तानले ती व्यक्तिविरुद्ध प्रत्यक्ष कारबाही गर्ने अपेक्षा गरिन्छ । 

तर उहाँले यस उपायले समस्या पूर्णरूपमा समाधान नहुने उल्लेख गर्दै भन्नुभयो, “यो प्राविधिक संयन्त्रले गहिरा कारणलाई सम्बोधन गर्न सक्छ कि सक्दैन भन्ने अनिश्चित छ ।” पाकिस्तान लामो समयदेखि तालिबानको प्रमुख समर्थक रहँदै आएको छ, जसलाई उसले भारत विरुद्धको रणनीतिक गहिराइको रूपमा हेर्दै आएको थियो । 

दुई हप्ता अघि काबुलमा भएको विस्फोट तालिबानका विदेशमन्त्रीको भारत भ्रमणकै क्रममा भएको थियो । उक्त विस्फोटले हालको तनावलाई बढाएको थियो । टर्कीले शनिबारको वार्ताको विवरण सार्वजनिक नगरे पनि दोहामा ‘शान्ति र स्थिरता बलियो बनाउने संयन्त्र स्थापना गर्ने’ दुवै पक्षको निर्णयको प्रशंसा गरेको छ र उक्त प्रयासमा निरन्तर सहयोग गर्ने वाचा गरेको छ । रासस/एएफपी