• १६ चैत २०८०, शुक्रबार

सात स्थानीय तह डुबानमा

blog

विस्थापित महिला बालबच्चासहित एक विद्यालयमा । तस्बिर : विष्णुप्रसाद पोखरेल

सुनसरी समाचारदाता

सुनसरी, असार १६ गते  । तीन दिनदेखिको अविरल वर्षाको कारण सुनसरी जिल्लाको सातवटा स्थानीय तह अधिक प्रभावित भएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार इटहरी उपमहानगरपालिका, वराहक्षेत्र, दुहबी र इनरुवा नगरपालिकाका साथै भोक्राहानरसिंह, हरिपुर र बर्जु गाउँपालिका बाढी र डुबानका कारण अधिक प्रभावित भएका छन् । 

भोक्राहानरसिंहको वडा नम्बर ५ र ७ मा सयौँ घर सुनसरी खोलाको बाढीले डुबाएको छ । भोक्राहानरसिंह–७ मा १५० घर पूर्ण रूपमा डुबानमा परेको, १८८ घर आंशिक र तीन सय घर सामान्य डुबानमा परेको प्रजिअ यादवले जानकारी दिनुभएको छ ।  

इटहरीको वडा नम्बर ८ र ५ को बस्ती पनि डुबानमा परेको छ । वराहक्षेत्र नगरपालिकामा ब्रह्मानन्द खोलामा पहिरोले बाटो पुरेपछि चतरा वराहक्षेत्रको भित्रि सडक खण्ड अवरुद्ध भएको छ । सोही नगरपालिकाको ४, ५, ८, १० र ११ नम्बर वडाका केही बस्तीमा डुबान भएको छ । 

दुहबी नगरपालिकाको वडा नं. ४ मा डुबान भएको र बुढी खोलामा आएको बाढीले कटान गर्दा शोभाकुमारी चौधरी र विकास विकको घर भत्किएको छ । सो परिवारका नौ जनालाई उद्दार गरी बीपी आधारभूत विद्यालयमा राखिएको छ । दुहबी १२ ठेका टोलमा टेङ्ग्र्रा खोलाको बाढी पसी डुबान भएपछि चिमढी जाने भित्रि सडक खण्डको करिब दुई मिटर कालोपत्रे सडक भत्काएर निकास गरिएको छ । इनरुवा–८ को उराव टोलमा सुनसरी खोलामा आएको बाढीले २० घर डुबाएको छ ।

हरिनगर गाउँपालिका–५ वसन्तपुरमा केही घर परिवार डुबानमा परी विस्थापित भएका छन् । यसैगरी बर्जु गाउँपालिका–५, गुरुङ टोलमा आठ परिवार डुबानमा परेर विस्थापित भएका छन् । यस्तै बर्जु–६, चिमडीमा करिब ४० घर परिवार डुबानमा परी विस्थापित भएका छन् । 

उच्च सतर्कता अपनाउन आग्रह

निरन्तरको वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएपछि सुनसरी जिल्लाअन्तर्गत पर्ने सप्तकोसी नदी आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले निर्देशन दिएको छ । बाढी र डुबानको जोखिम क्षेत्रको अनुगमनमा गएको जिल्ला विपत् व्यवस्थापन समितिको टोलीले सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको भन्दै सप्तकोसीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । 

बुधबार अपरान्ह सप्तकोसी नदीको बहाव १ लाख ८१ हजार ९५ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । मङ्गलबारको तुलनामा बुधबार अपरान्हसम्म नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । पानीको बहाव बढेसँगै २४ वटा ढोका पनि खुला गरिएको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । पहाडी क्षेत्रमा निरन्तर वर्षा भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्दै गएको हो ।

विद्यालय बन्द 

इनरुवा समाचारदाताका अनुसार सुनसरीका अधिकांश स्थानीय तहले बाढी र डुबानलाई ध्यानमा राखी शैक्षिक संस्था बन्द गरेका छन् । जिल्ला सदरमुकाम इनरुवाका शैक्षिक संस्थाहरू अनिश्चितकाल बन्द गरिएको छ भने भोक्राहानरसिंह गाउँपालिकाले बुधबारदेखि तीन दिनसम्म र इटहरी उपमहानगरपालिकाले पनि बुधबारदेखि विद्यालय बन्द गराएको हो । 

धेरै विद्यालयमा बाढी पसेको र केही ठाउँमा विधार्थीलाई आवतजावतमा समस्या तथा अझै बाढी आएको खण्डमा विस्थापितलाई राख्नुपर्ने भएकाले विद्यालय बन्द गरिएको छ । बाढीबाट विस्थापितलाई राख्ने ठाउँ नहुँदा स्थानीय तहहरूका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरिएको जनाएको छ । इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले आकस्मिक बैठक बसेर वर्षाले विस्थापितलाई विद्यालयमा आश्रय दिने निर्णय गरिएको बताउनुभयो । अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १४ गतेदेखि नै अर्को सूचना नआएसम्मका लागि विद्यालयहरू बन्द गरिएको भण्डारीले बताउनुभयो । 

भोक्राहानरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्खर आजादले पनि असार १५ गते बुधबारदेखि १७ गतेसम्म सबै सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उता इटहरीका विद्यालय पनि बुधबारदेखि १७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखाले जनाएको छ ।

झापामा उद्धार कार्य जारी

दमक समाचारदाताका अनुसार अविरल वर्षाका कारण झापाका विभिन्न खोला (खोल्साहरूमा आएको बाढीले डुबान परेकाहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । मङ्गलबार बेलुका कचनकवल गाउँपालिका–१, घेराबारीमा खोलाले एक व्यक्तिलाई बगाउँदै गरेको देखेपछि प्रहरीले तत्कालै उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जमुना खोलाले राति करिब ८ बजे स्थानीय प्रकाश मलाहलाई बगाउँदै गरेको अवस्थामा उद्दार भएको हो । पुल अड्किएर हारगुहार गरिरहनु भएका मलाहालाई प्रहरीले जीवितै उद्दार गरेको हो । प्रहरीले बाढी आइरहेकाले सकेसम्म खोला तथा खोल्सी नतर्न र तर्नै परेको अवस्थामा सुरक्षाकर्मीको सहयोग लिन आग्रह गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरीले झापाका विभिन्न पालिकाहरूमा सात सयभन्दा बढी मानिसको उद्धार गरेर सुरक्षित स्थलमा राखिएको छ । कनकाई, रतुवा, विरिङ, बनियानी, गेउरियालगायतका खोलामा आएको बाढीका कारण बस्ती डुबानमा परेकाहरूको उद्दार गरिएको हो । 

झरीका कारण उद्दारमा कठिनाइ भए पनि जनप्रतिनिधिलगायत सबैको सहयोगले अहिलेसम्म जिल्लामा मानवीय क्षति नभएको पनि जनाइएको छ । उद्दार गरिएका स्थानीय विद्यालय, मन्दिरलगायतका ठाउँहरूमा बसिरहेका छन् । उनीहरूलाई अति आवश्यकीय खाद्यान्नलगायतका सामग्री रेडक्रस र स्थानीय पालिकाहरूले उपलब्ध गराउन थालेका छन् ।

सडक अवरुद्ध

अविरल वर्षाका कारण सडकहरूमा ठूलो क्षति पुग्न थालेको छ । दमक–१० स्थित चक्रपथ नै बगाउन थालेको स्थानीय नगेन्द्रमणि न्यौपानेले बताउनु भएको छ । चक्रपथको केही भाग त बगाइसकेको छ र अझै कटान रोकिएको छैन, उहाँले भन्नुभयो ।

यसैगरी शिवसताक्षी नगरपालिकामा कजवेको एक भाग सडक भत्काएपछि यस क्षेत्रमा आवतजावत नै बन्द भएको छ । झिलझिले खोलामा आएको बाढीले शिवसताक्षी ७ र ८ को कजवेमा क्षति पु-याएको हो । कजवेको मुख कटान गरेपछि झिलझिलेदेखि धौलेचोक जोड्ने कालोपत्रे सडक बन्द भएको स्थानीय डामकुमार कुवँरले बताउनु भयो ।

यसैगरी भद्रपुर नगरपालिका–१० स्थित देउनिया उत्तर बरगाछी टोल हुँदै सेन्टकुजुर जोड्ने सडक अवरुद्ध बनेको छ । यस सडकमा रहेको कल्भर्ट भत्कदा सडक अवरुद्ध भएको जनाइएको छ । स्थानीय खोलामा आएको बाढीका कारण कल्भर्टसँगै सडक भत्किएको हो ।भद्रपुर नगरपालिकामा नै चारआली–केचना कालोपत्रे सडक भत्किन थालेको छ । वडा नं. ६ मा नालाको पानीले सडकलाई सुरक्षित गर्न बनाइएको ढुङ्गाको तटबन्ध भत्केपछि कालोपत्रे भत्कन थालेको स्थानीयले बताएका छन् । 

विद्यालय बन्द 

झापामा अविरल वर्षाका कारण आएको बाढीका कारण आवतजावतमा नै समस्या हुन थालेपछि झापाको हल्दिबारी गाँउपालिका र शिवसताक्षी नगरपालिकाले सबै विद्यालय बन्द गर्न निर्देशन दिएका छन् । वर्षामा कमी नआएसम्मका लागि विद्यालय बन्द भएका हुन् ।

हल्दिबारी गाँउपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार लगातारको वर्षाले सडकहरू भत्केका कारण बालबालिकालाई हिँड्डुलमा समस्या हुनसक्ने भएकाले यस्तो निर्णय गरिएको हो । विद्यालय लगाउने वा विद्यार्थी विद्यालय आएर पठनपाठन गर्ने अवस्था नभएर विद्यालय बन्द गरेका छौँ, उहाँले भन्नुभयो ।

विद्यालयसम्म विद्यार्थी आउन सक्ने अवस्था नरहेकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्न सबै विद्यालयलाई भनिएको नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकालले बताउनु भएको छ । परीक्षाहरू विद्यालय लागे पछि गर्नलाई निर्देशन दिइएको उहाँले जानकारी दिनु भयो ।झापाका अधिकांश पालिका वर्षाका कारण प्रभावित भएपछि स्वतस्फूर्त रूपमा विद्यालय बन्द भएका छन् । विद्यालयहरूमा विस्थापितलाई राख्न थालिएसँंगै विद्यालयहरू बन्द हुन थालेका हुन् ।