• २९ वैशाख २०८१, शनिबार

परम्परागत शैलीमा रोपाइँ

blog

नगरप्रमुख महेशप्रसाद चौधरीलगायत धान रोपाईँ गर्दै । तस्बिर : जीबछ यादव

जनकपुर, असार १६ गते । मधेश प्रदेशका जिल्लामा परम्परागत शैलीमा धान रोपेर बुधबार धान दिवस मनाइएको छ । कृषि कर्मलाई आधुनिकीकरण गर्ने भन्दै आए पनि प्रदेशका मन्त्री, स्थानीय तहका प्रमुख/अध्यक्षलगायतले असार १५ मा धान दिवसमा हातले हिलोमा धान रोपेका छन् ।‘राष्ट्रिय धान दिवस’ अर्थात् असार १५ कृषकको लागि महत्त्वपूर्ण दिन मानिन्छ । ‘मानो रोपेर मुरी फलाउने’ समय भएकोले खेतमा धान रोपी दही चिउरा खाएर प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइन्छ । 

यस क्रममा जनकपुरधाम समाचारदाताअनुसार जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामस्थित नोचा पोखरीमा बुधबार ‘‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” भन्ने मूल नाराका साथ १९औँ राष्ट्रिय धान दिवस मनाइएको छ । सो अवसरमा नगरप्रमुख मनोजकुमार साहले आगामी दिनमा कृषि उत्पादनलाई बढाउन किसान लक्षित कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले किसानलाई कृषि र पशुजन्य उत्पादनमा उत्प्रेरित गर्न जनकपुरधाममा कृषि यान्त्रिकीकरणमा जोड दिने र कृषि मिटरमा छुटको समेत व्यवस्था गर्ने जानकारी दिनुभयो । उहाँले कृषि उत्पादनलाई बढाउन माटो परीक्षण र कम्पोस्ट मल उत्पादन र वितरण गर्ने जस्ता कार्यक्रम आगामी दिनमा सञ्चालन गर्ने बताउनुभयो । 

‘अन्न बाली, जनकपुरधामक रखवाली’ (अन्नबाली, जनकपुरधामको रखवाली) मूल नारासाथ जनकपुरधामको प्रथम धान दिवस मनाइएको हो । यसै क्रममा उहाँले मलखादलगायतका समस्या समाधानका लागि पालिकाले पहल गर्ने बताउनुभयो । धान दिवस कार्यक्रममा पालिकाका कर्मचारी, जनकपुरधामका विभिन्न वडाका जनप्रतिनिधि र स्थानीय किसानको सहभागिता थियो । 

मल र मजदुर अभाव

लहान समाचारदाताअनुसार केही वर्षयता मल र मजदुर अभावले यहाँका किसान खेतीपातीबाट निराश हुन थालेका छन् । मल र मजदुर समयमा पाएमा खेतीबाट पनि राम्रै आम्दानी गर्न सक्ने लहान–१३ का रघुवीर यादवले बताउनुभयो । “अहिले न मल पाउँछ, न मजदुर, किसानहरू दिक्क भएर निर्वाहमूखी खेती गर्न बाध्य छन्,” उहाँले भन्नुभयो । 

मल बीउ, मजदुर र बजारको अभावले यहाँका किसान खेतीको विकल्पमा अन्य काममा लाग्ने गरेको अर्का कृषक राजकुमार महतोले बताउनुभयो । “रोपाइँको समयमा कृषि मजदुर पाउँदैन । रासायनिक मल हालेन भने विकासे धान राम्रो फल्दैन । किसानले जसोतसो धान उत्पादन गरिहाल्यो भने सरकारले तोकेको मूल्यमा किसानले बिक्री गर्न पाउँदैन । वाक्कदिक्क भएर खेतीपाती छाडेर युवा पुस्ता वैदेशिक रोजगारमा जान बाध्य भइरहेका छन्,” उहाँले भन्नुभयो । 

ठेक्काबटैया लगाउनुपर्दा किसान निरास भएर खेती छोड्नु परेको लहान–८ का राजदेव यादवको दुखेसो छ । उहाँका अनुसार खेतीमा लाग्ने लागत जोड्दा ठेक्काबटैया लगाउनु नै राम्रो हुने देखेर अधिकांश नाम कमाएका कृषकहरू अहिले खेती छाडेर अन्य व्यवसाय रोजेका छन् । 

राष्ट्रिय धान रोपाइँको दिन स्थानीय जनप्रतिनिधिले खेतमा धान रोपाइँ गरेर उत्साह त बढाउने काम गर्नुहुन्छ तर मलखाद, मजदुर र बजारको उचित व्यवस्थापनमा अहिलेसम्म कुनै चासो नदिएको लहान–१० का कृषक राजेन्द्र यादवले गुनासो गर्नुभयो । कृषि मजदुरसमेत वैदेशिक रोजगारमा आकर्षित भएकाले महिला मजदुरका भरमा खेती गर्नुपर्ने बाध्यता छ । 

अहिलेसम्ममा लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा ३५ सय मेट्रिक टन डीएपी आइहाल्नुपर्नेमा छ सय मेट्रिक टन मात्रै आइपुगेकोले किसानले चाहेअनुसार मल पाउन सकेका छैनन् । पर्याप्त मल नपाउँदा यस वर्षको राष्ट्रिय धान दिवस पनि खल्लो भएको नेपाल राष्ट्रिय कृषक महासङ्घ सिरहाका अध्यक्ष प्रदिप सिंह दुनुवारले बताउनुभयो ।  

लहान प्रमुख महेशप्रसाद चौधरीले धान रोपाइँ दिवसको अवसरमा किसानले भोगिरहेको मल, सिँचाइ, मजदुर र बजार व्यवस्थापनलगायतका समस्या छिट्टै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हाम्रो लहान, समृद्ध–समुन्नत र सभ्य लहानको नारा किसानको समस्या समाधान नगरी हुन सक्दैन,” उहाँले भन्नुभयो । 

सर्लाहीमा छ प्रतिशत मात्रै रोपाइँ 

सर्लाही समाचारदाताका अनुसार यस वर्ष मध्य असार भइसक्दा सर्लाहीमा छ प्रतिशतमात्रै धान रोपाइँ भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका अनुसार जिल्लाभर धान खेती हुने ४६ हजार हेक्टरमध्ये अहिलेसम्म करिब छ प्रतिशतमा मात्रै रोपाइँ भएको हो । जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले बल्ल झरी पर्न सुरु भएकाले अब धान रोपाइँ तीब्र रूपमा हुने जानकारी दिनुभयो । उहाँले अहिलेसम्म सिँचाइ सुविधा रहेको क्षेत्रमा मात्रै छ देखि सात प्रतिशतसम्म रोपाइँ भएको उल्लेख गर्नुभयो । पर्याप्त वर्षा भएकाले अबको एक हप्ताभित्र जताततै धान रोपाइँ सुरु भइसक्ने जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाले जनाएको छ । 

बुधबार बिहानबाट झरी पर्न थालेपछि यहाँका किसान रोपाइँका लागि धानको बीउ उखेल्ने, आली भित्ता गर्ने र खेत खनजोतमा व्यस्त भएका छन् । सर्लाहीका किसानले साउन अन्तिम र भदौ पहिलो सातासम्म पनि धान रोपाइँ गर्छन् । अहिले पानी परेको मौका पारेर रोपाइँ गरिन्छ भने मकै बाली पाक्न बाँकी नै रहेको खेतमा साउनको अन्तिम साता वा भदौ लागेपछि रोपाइँ गर्ने गरेको किसानले बताएका छन् । जिल्लामा धमाधम रोपाइँ सुरु भए पनि रसायनिक मलको अभावका कारण समस्या खेप्नु परेको किसानको गुनासो छ । यस्तै असार १५ को अवसर पारेर बुधबार जिल्लाको ईश्वरपुर, नवलपुर, हरिवनलगायतका स्थानमा धान रोपाइँ कार्यक्रम भएका छन् ।  

सप्तरी समाचारदाताका अनुसार ‘धान रोपौँ, खाद्यान्नमा आत्मनिर्भर बनौँ’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको छ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित अमसोत सामुदायिक कृषि सहकारी संस्था लिमिटेड बेल्हाद्वारा १९ राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा. सूर्यनारायण यादव, अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, गाउँपालिका उपाध्यक्ष कल्पनाकुमारी चौधरी, कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादवलगायतका विभिन्न सरकारी तथा गैर सरकारी संस्था प्रतिनिधिको सहभागिता थियो ।

विद्यार्थीलाई दही चिउरा 

रौतहट समाचारदाता अनुसार रौतहटको एक सामुदायिक विद्यालयले विद्यालयका विद्यार्थीलाई दही चिउरा खुवाएर असार १५ को महŒवबारे जानकारी गराएको छ । असार १५ मा दही चिउरा खानु नेपालको मौलिक परम्परा र संस्कृति रहेको जानकारी गराउने उद्देश्यले जिल्लाको चन्द्रपुुर नगरपालिका–६ मा रहेको जनज्योति माध्यमिक विद्यालयले विद्यार्थीलाई दही चिउरा खुवाएको हो ।  

जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक शङ्कर भट्टराईले विद्यार्थीलाई दही चिउरा खुवाई असार १५ को महत्त्वबारे जानकारी दिनु भएको छ । असार १५ मा मनाइने राष्ट्रिय धान दिवस किसानको लागि महŒवपूर्ण दिन मानिए पनि परम्परादेखि चलेको यो चलन र संस्कृतिबारे विद्यार्थीले बुझ्न जरुरी रहेको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार पाठ्यक्रम तथा पाठ्यपुस्तकमा असार १५ गतेको बारेमा कतै उल्लेख नभए पनि यसको सामाजिक, सांस्कृतिक एवं आर्थिक महत्त्वको बारेमा जानकारी गराउनु विद्यार्थीको लागि अतिरिक्त सिकाई हो । यसबाट सामाजिक मूल्य मान्यताको पुस्तान्तरणमा टेवा पुग्ने छ ।समितिका अध्यक्ष देवराज कार्कीले विद्यालयका बालबालिकालाई बेलाबेलामा सामाजिक मूल्य, मान्यता, परम्परा, चालचलन एवं भेषभुषाको बारेमा जानकारी गराउँदा उनीहरूले अतिरिक्त ज्ञान प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।  

खेती प्रविधिमा परिवर्तनको खाँचो 

बोदेबर्साइन समाचारदाता अनुसार मधेश प्रदेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैजनाथ महतोले आयातलाई घटाउन उन्नत जातका धान र आधुनिक प्रविधि प्रयोग गरी खेती गर्नुपर्नेे बताउनुभएको छ । उहाँले यसरी खेती गर्दा जिल्लाका आठ लाख नागरिक खाद्यान्नमा आत्मनिर्भर हुने तर्क राख्नुभयो । 

कृषि ज्ञान केन्द्र सप्तरीको आयोजना तथा मधेश कृषि विश्वविधालयको समन्वयमा बुधबार “धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’’ भन्ने नारासहित राष्ट्रिय धान दिवस कार्यक्रम मनाइएको छ । सप्तकोसी नगरपालिकाका किसान रामकिसुन श्रेष्ठले समयमा मल, बीउ, खेती गर्न आधुनिक मेसिनको उपलब्धता भयो भने हामी खेती गर्ने लागत खटाएर उत्पादन बढाउन सक्छौँ । 

सप्तरीमा मात्रै ७२ हजार हेक्टर खेतीयोग्य जमिनमा धान खेती हुन्छ । प्रतिहेक्टर ३.५ मेट्रिक टन धान उत्पादन हुँदै आए पनि भारतीय बजारबाट वर्षैभरि चामल आयात गरी खाने नागरिकको सङ्ख्या ५० प्रतिशत रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाउँछ । नेपालमा तीन हजार किसिमका रैथाने जातका धानका प्रजाति रहे पनि अहिले ती धानका खेती गर्ने क्रम हराउँदै गएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र यादवले बताउनुभयो । उहाँले किसान रासायनिक मल र विकासी बीउमा निर्भर भएरकाले खेतीयोग्य जमीनको उर्वराशक्ति घट्दै जाँदा आयातको दर बढेको बताउनुभयो ।