• २६ वैशाख २०८१, बुधबार

‘कर्मचारीको खुसीले धान फल्दैन’

blog

मीना कँडेल

कावासोती, असार १६ गते । विगतका वर्षहरूझैँ यो वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी असार १५ अर्थात् धान दिवस मनाइएको छ । धान दिवस मनाउन सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिले हिलोमा पसेर रोपाइँ गरी खुसी साटे पनि किसान खुसी देखिँदैनन् ।  यो दिवसले वास्तविक किसानलाई भने खासै खुसी हुने वातावरण बनाउन सकेन ।

वर्षैभरि खाने अन्नबाली जसोतसो लगाउन किसान व्यस्त देखिन्छन् । असार लागेसँगै किसानलाई खेतीपाती गर्न चटारो छ । तर मलको सहज र समयमै उपलब्धता नहुँदा असार १५ तथा धान दिवसले किसानलाई खुसी दिन नसकेको हो । मल, बीउ नपाउँदाको चिन्ता एकातिर छ भने खेताला नपाउने समस्या अर्काेतर्फ रहेको किसानहरू बताउँछन् । 

यही असारको दोस्रो साताबाट नवलपरासीपूर्वको विभिन्न ठाउँमा धान रोपाइँ सुरु गरिएको छ । आकाशे पानी पर्याप्त नभएका स्थानमा बोरिङबाट र कुलो लाग्ने ठाउँमा सिँचाइ गरी रोपाइँ सुरु गरिएको छ । 

स्थानीय कृषक राधा सुवेदी राष्ट्रिय धान दिवस नारामा मात्र सीमित रहेको बताउनुुहुन्छ । “धान दिवस र असार १५ ले किसानलाई खुसी दिने हो,” उहाँले भन्नुभयो, “सरकारी तथा गैरसरकारी कर्मचारी खुसी भएर धान फल्ने होइन ।” 

एक दिन खेतमा जाँदैमा हिलो खेल्दैमा कृषि क्रान्ति नआउने तर्क उहाँको छ । मल छैन, बीउविजनको व्यवस्था छैन र खेताला पाउनै मुस्किल छ । महँगीले सबै कुराको भाउ बढेको छ । अब खेती गरेर जीविका चलाउन नसकिने अवस्था आएको उहाँले बताउनुभयो । 

कावासोती नगरपालिका वडा नम्बर ७ का कृषक नाथुराम चौधरी मल अभावमा कालोबजारीबाट महँगो मूल्यमा मल खरिद गर्नुपर्ने बाध्यता आएको बताउनुहुन्छ । आर्थिक अभाव छ, महँगो मूल्यमा डीएपी मल किनेर छर्न सक्ने अवस्था छैन । धानमा राम्रो फल नलागे वर्षभरिको परिश्रम खेर जाने चिन्ता राख्दै कृषक चौधरीले भन्नुभयो, “हाम्रो दुःख कसले देख्ने, कसले सुन्ने ?” 

डीएपी मलको थोक मूल्य ४४ रुपियाँ ९० पैसा भए पनि बजारमा ४८ रुपियाँमा बिक्री भइरहेको छ । युरियाको मूल्य २२ रुपियाँ ९० पैसा र खुद्रा मूल्य प्रतिकिलो २५ रुपियाँ रहेको छ । तर पनि पाइँदैन । युरिया मल कालोबजारी गरी ४० रुपियाँ किलोमा बिक्री हुने गरेको किसानहरू बताउँछन् । युरिया मलको देशैभर अभाव देखिएको कृषि सामग्री कम्पनी पूर्वी नवलपरासीका शाखा प्रबन्धक शोभा न्यौपानेले बताउनुभयो । असार महिनाको अन्त्यतिर मल उपलब्ध हुने जानकारी प्राप्त भए पनि निश्चित नहुँदा मल अभाव थपिँदै गएको छ ।