सन्तोषी रावल
बाजुरा, असोज ११ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिकाले काठमाडौँ महानगरपालिकाबाट एम्बुलेन्स प्राप्त गरेको छ । स्वास्थ्य सुविधाको पहुँच अभाव झेलिरहेका दुर्गम बस्तीलाई प्राथमिकतामा राख्दै महानगरपालिकाले उक्त सहयोग उपलब्ध गराएको हो ।
यसअघि २०८० मङ्सिरमा महानगरपालिकाले खप्तड छेडेदहसहित देशका विभिन्न दुर्गम गाउँपालिकालाई राजस्व छुटको व्यवस्था मिलाई एम्बुलेन्स वितरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पहिलो चरणमै ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
शुक्रबार एक विशेष कार्यक्रममार्फत काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतलाई हस्तान्तरण गरेको हो । यससँगै गाउँपालिकामा अब दुईवटा एम्बुलेन्स सञ्चालनमा आउने भएका छन् । यसअघि २०८२ जेठ ३२ गते गाउँपालिकाले भारतीय दूतावासबाट उपहारस्वरूप अर्को एम्बुलेन्स पाएको थियो ।
गाउँपालिका अध्यक्ष रावतका अनुसार पालिकाले तोकिएको कार्यविधिअनुसार सहज र सुलभ सेवा उपलब्ध गराइनेछ। मार्तडी सदरमुकाम, बयालपाटा अस्पताल अछाम लगायत विभिन्न स्थानसम्मका लागि भाडादर तोकिएको छ भने गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, विपन्न, विपद् तथा दुर्घटनामा परेकालाई पालिकाभित्र निःशुल्क सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ ।