• ११ असोज २०८२, शनिबार

'कांग्रेसभित्र एकता र सङ्गठन सुदृढीकरणतर्फ नयाँ मोड'

blog

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतकाठमाडौँ उपत्यका भित्र रहेका पार्टीका बहुसङ्ख्यक केन्द्रीय सदस्यहरूसँग विशेष छलफल गर्नुहुँदै ।

काठमाडौँ, असोज ११ गते । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत पछिल्ला दिनमा पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधिहरुलाई चिर्दै सङ्गठनलाई बलियो बनाउन सक्रिय हुनुभएको छ । यही क्रममा उहाँले काठमाडौँ उपत्यका भित्र रहेका पार्टीका बहुसङ्ख्यक केन्द्रीय सदस्यहरूसँग विशेष छलफल गर्नुभएको छ ।

यसअघि नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारी, कांग्रेस निकट बुद्धिजीवी र विभिन्न तहका नेताहरुसँग पनि निरन्तर संवादमा रहँदै आएका डा. महतले हालैको जेनेरेसन जी आन्दोलन, हस्ताक्षर अभियान र युवापुस्तामा देखिएको असन्तोषलाई सम्बोधन गर्ने उद्देश्यले छलफललाई अघि बढाएको बताउनुभएको छ ।

छलफलमा सहभागी केन्द्रीय सदस्यहरूले घाइते पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य लाभको कामना गर्दै पार्टीलाई अनुशासन, एकता र सहकार्यतर्फ उन्मुख बनाउनुपर्ने धारणा राखेका थिए ।

नेताहरुलाई सम्बोधन गर्दै डा. महतले भन्नुभयो, ‘‘पार्टीलाई केन्द्रदेखि गाउँसम्म बलियो संरचना बनाउने हो भने मात्रै लोकतान्त्रिक आन्दोलन सशक्त हुन्छ । गुटगत गतिविधि र असन्तुष्टिपूर्ण हस्ताक्षर अभियानले पार्टी कमजोर बनाउँछ, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।’’

यसैबिच दसैँलगत्तै सभापति देउवाले केन्द्रीय समितिको बैठक बोलाउने तयारीबारे छलफलमा बहस भएको छ । उक्त बैठकले सङ्गठन विस्तार, असन्तुष्टि व्यवस्थापन र नीतिगत स्पष्टता ल्याउने अपक्षा गरिएको छ ।

संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राख्दै नेताहरूले कांग्रेसलाई लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा पुनः उभ्याउन महत्त्वपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् ।

राजनीतिक विश्लेषकहरूको भनाइमा, ‘‘डा. महतको सक्रियता कांग्रेसलाई आगामी निर्वाचन र आन्दोलनमा बलियो नेतृत्वका रूपमा प्रस्तुत गर्ने आधार बन्न सक्छ ।’’

विज्ञहरूले यस छलफललाई केवल औपचारिकता नभई ‘पार्टी एकता अभियान’को पहिलो चरणका रूपमा लिएका छन् । डा. महतले आगामी दिनमा प्रदेश र जिल्ला तहमा पुगेर यस्तै प्रकृतिका छलफल गर्ने तयारीसमेत गरिरहनुभएको छ । विश्लेषकहरूका अनुसार, यो पहल कांग्रेसलाई असन्तुष्टिबाट निकाल्दै सङ्गठनात्मक एकता र लोकतान्त्रिक आन्दोलनमा प्रभावकारी मोड दिन सक्ने सम्भावित टर्निङ प्वाइन्ट हो ।