अनिल पराजुली
हेटौँडा, असोज ११ गते । पूर्व–पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जना घाइते हुनुभएको छ । मनहरी गाउँपालिका–८ बेलुवा र हेटौँडा उपमहानगरपालिका–१९ रजैयामा शुक्रबार भएको सवारी दुर्घटनामा परी दुई जना घाइते हुनुभएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
पूर्व पश्चिम सडक खण्डमा सिमपानीबाट मनहरी तर्फ आउँदै गरेको ना.२ ह १२७० नम्बरको अटोको पछाडि सोही दिशाबाट आउँदै गरेको बा.प्र.०६–००४ प ९१७१ न.को मोटरसाइकल ठक्कर खान गई दुर्घटना हुँदा चालक मकवानपुर मनहरी गाउँपालिका–७ रमौली बस्ने २० वर्षीय प्रशान्त सुवेदी घाइते हुनुभएको हो । उहाँको अनुहार, दाहिने कुममा चोट लागेको छ । घाइतेको उपचारका लागि मनहरी अस्पताल पठाएकोमा सामान्य उपचार पश्चात् थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताउनुभयो ।
त्यस्तै, पूर्व–पश्चिम सडक खण्डमा हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०२६ प ५९८० न.को स्कुटर आफैँ अनियन्त्रित भई सडकमा पल्टी दुर्घटना हुँदा स्कुटर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–१ बस्ने ३९ वर्षीय लीला पौडेल घाइते हुनुभएको छ । उहाँको मुख र अनुहारमा चोट लागेको छ । घाइतेको चुरेहिल अस्पताल मकवानपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।