च्युच्वान, असोज ११ गते । चीनले शनिबार बिहान आफ्नो नयाँ भू–उपग्रह ‘ फेंग्युन–३–०८’ अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । यो प्रक्षेपण उत्तरपश्चिम चीनस्थित च्युच्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ३ः२८ बजे (बेइजिङ समय अनुसार) सम्पन्न भएको हो ।
‘फेंग्युन–३–०८’ उपग्रहको मुख्य उद्देश्य मौसम पूर्वानुमान, वातावरणीय अध्ययन, वायुमण्डलीय रसायन विश्लेषण र जलवायु परिवर्तनको निगरानी गर्नु रहेको छ ।
उपग्रहलाई ‘लङ्ग मार्च–४सी’ नामक प्रक्षेपण यानमार्फत अन्तरिक्षमा पठाइएको हो र यसले निर्धारित कक्षमा सफलतापूर्वक स्थान लिएको चीन राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले जानकारी दिएको छ । यो भू–उपग्रहमा नौवटा टाढाबाट अवलोकन गर्ने यन्त्रहरू जडान गरिएका छन्, जसमा क्यामेरा र सूक्ष्मतरङ्ग चित्रग्राहक (इमेजर) छन् ।
यस प्रक्षेपणसँगै चीनको विश्वव्यापी सङ्ख्यात्मक मौसम भविष्यवाणी क्षमता, जलवायु परिवर्तनप्रति उत्तरदायित्वपूर्ण तयारी र प्राकृतिक विपद् रोकथाम तथा न्यूनीकरणसम्बन्धी क्षमता थप सुदृढ हुने सीएनएसएले जनाएको छ । यो प्रक्षेपण लङ्ग मार्च शृङ्खलाको ५९६औं सफल मिसन बनेको छ । रासस/सिन्ह्वा