सिराज खान
नेपालगन्ज, असोज ११ गते । स्वदेशमा काम नपाएपछि बाध्य भएर रोजगारीका लागि सानै उमेरमा भारत गएका पश्चिम नेपालका युवाहरुले देश नयाँ युगमा प्रवेश गरेकाले अब केही हुन्छ भन्ने लागेको बताएका छन् ।
दसैँ लगायतका चाडपर्व मनाउन स्वदेश फर्किने क्रममा जमुनाहा नाकामा पुगेका उनीहरुले युवाहरु देश बनाउन कस्सिएकाले ठुलो परिवर्तनको आशा जागेको प्रतिक्रिया दिए ।
पश्चिम नेपालका सुर्खेत, दैलेख, दाङ, जाजरकोट, रोल्पा, रुकुम, सल्यान र कालिकोट लगायतका जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न स्थानमा गएकाहरु अहिले चाडपर्व मनाउन स्वदेश फर्किरहेका छन् ।
स्वदेश फर्किनेहरुमा दैलेखका जेनजीहरु १५ वर्षीय दिपेन्द्र सार्की, १७ वर्षीय दशरथ बोगटी र १८ वर्षीय गणेश सुनार पनि हुनुहुन्छ । जमुनाहा नाकामा भेटिनु भएका उहाँहरूको अनुहारमा देशमै रोजगारीको सम्भावना र परिवर्तनको आशा प्रष्ट देखिन्थ्यो ।
दिपेन्द्रले भन्नुभयो, “अहिले हाम्रो उमेरकै साथीहरूले आन्दोलन गरेका छन्, पुराना नेताहरूको सरकार ढलेको छ, अब केही नयाँ हुने आशा र सम्भावना बढ्दै गएको छ । देशलाई नयाँ युगमा प्रवेश गराउने यो नै सुवर्ण अवसर हो ।”
हर्का दशरथ बोगटी भन्नुभयो, “हामीले फेसबुकमार्फत आन्दोलन भएको थाहा पायौँ, भ्रष्ट नेताहरूलाई हटाईयो जे भयो, ठिकै भयो । अब सबैले मिलेर देश बनाउनतिर लाग्नुपर्छ, कसैले पनि दुई छाक टार्न विदेशिनु नपरोस ।”
उहाँहरु लगायत नाकामा भेटिनु भएका अधिकांश जेनजीले आसन्न निर्वाचनमा युवाले नेतृत्व लिनुपर्ने धारणा राख्नुभयो । उहाँहरूका अनुसार, पुराना पार्टी र नेताले अब काम गर्न नसक्ने पुष्टि भएकोले नयाँ पुस्ता अघि आउनुपर्छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै युवाहरू रोजगारीका लागि भारत जाने गरेका छन् । उनीहरू होटल–रेस्टुरेन्ट, खेतबारी, चौकीदारी र भारी काममा संलग्न हुने गरेका छन् ।
तर स्वदेश फर्किएका दाङका ४० वर्षीय गोपाल बुढाथोकीले देशमै रोजगारी भए कसैलाई भारत जान मन नभइको जनाउँदै जेनजी आन्दोलनपछि भ्रष्टाचार अन्त्य हुने र देशमै रोजगारी सिर्जना हुने विश्वास बढेको बताउनुभयो ।
यस्तै, सल्यानका ३० वर्षीय राजेश विकले स्वदेशमै नियमित कमाइ हुने रोजगारी भएको भए अर्काको देशमा गएर दुखकष्ट उठाउनु नपर्ने बताउनुभयो । रोल्पा लिवांगका जेनजी सुरेश सुनारले अब परिवर्तन हुन्छ भन्ने विश्वास जागेको जनाउँदै जसले काम गर्न सक्छ उसैलाई भोट दिनुपर्छ भन्नुभयो ।
यसैबीच, दसैँ नजिकिएसँगै जमुनाहा नाका भएर दैनिक १५ हजारभन्दा बढी नेपाली स्वदेश फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरी आगन्तुकहरूको सुरक्षा र ठगीबाट बचाउने व्यवस्था मिलाएको छ ।
होटल व्यवसायी संघ बाँकेले पनि अवैध होटल व्यवसायीबाट हुने ठगी र यात्रु तानातान रोक्न नाकामा निगरानी बढाएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलले बताउनुभयो ।