बाबुराम देवकोटा
सिन्धुलीमाढी, असोज ८ गते । जेनजी आन्दोलनका कारण कारागार कार्यालय सिन्धुली फोरेर भागेको कैदीबन्दीमध्ये १७७ जना अझै फरार रहेका छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २५ गते बिहान कारागार कार्यालयमा आगजनी तथा तोडफोड गरी सबै ४७१ जना कैदीबन्दी भागेका थिए । ती मध्ये बुधबारसम्म २९४ जनालाई पक्राउ गरिएको र बाँकी १७७ जना फरार रहेका छन् । भागेका कैदीबन्दीलाई देखे भेटेमा प्रहरीको सम्पर्क नम्बरहरुमा सूचना जानकारी दिन अनुरोध गर्दै सूचना समेत प्रकाशन गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरी नायब उपरिक्षक सुर्यप्रकास सुवेदीले फरार कैदीबन्दीको खोजतलास भइरहेको र उनीहरुलाई सम्पर्कमा आउने सूचना जारी गरिएको बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका मध्ये ३७ जना महिला र २५७ जना पुरुष कैदीबन्दी रहेका छन् । यो बाहेक देशका अन्य विभिन्न ठाँउमा रहेका कारागार कार्यालयबाट भागेका १९ जना कैदीबन्दीलाई पनि सिन्धुलीमा पक्राउ गरि राखिएको छ ।
जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय सिन्धुलीबाट ४२८ जना पुरुष र ४३ जना महिला गरी ४७१ जना कैदीबन्दी भागेका उहाँले जानकारी दिनुभयो । पक्राउ गरेका कारागार कार्यालय सिन्धुलीका कैदीबन्दी मध्ये नौ जना महिला र ८८ जना पुरुष आफै सम्पर्क गर्न आएका उक्त कार्यालयले जनाएको छ ।