नेपालगन्ज समाचारदाता
नेपालगन्ज, असोज ६ गते । सिर्जना कला साहित्य प्रतिष्ठानले आयोजना गरेको दोस्रो अधिवेशनमा तीन जना वरिष्ठ साहित्यकारलाई विभिन्न पुरस्कार प्रदान गर्नुका साथै सम्मानित गरिएको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार पूर्ण ओलीलाई पशुपति शाह स्मृति साहित्य पुरष्कार, भरतबहादुर रानाभाटलाई वि. विकास साहित्य रत्न सम्मान र विष्णुलाल कुमाललाई भूपेन्द्रप्रकाश प्रतिभा गौरव सम्मान प्रदान गरिएको हो । उहाँहरूलाई लुम्बिनी प्राविधिक विश्वविद्यालय, सेवा आयोगका सदस्य एवं साहित्यकार प्राडा कृष्णप्रसाद घिमिरे, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव सनत रेग्मी तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ महानन्द ढकालले पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा उपन्यासकार शशिराम कार्कीको ‘आरन’ उपन्यासको विमोचन गरिएको थियो । साहित्यकारहरू लेकप्रसाद प्याकुरेल र बिपी अस्तुले कृतिको समीक्षा गर्नुभएको थियो । साहित्यकारहरू कल्पना पौडेल ‘जिज्ञासु’, खगेन्द्र गिरी ‘कोपिला’, डा. हरिप्रसाद तिमिल्सिना, वरिष्ठ साहित्यकार प्राडा कृष्णप्रसाद घिमिरेले साहित्य र कृतिका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो ।