हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), असोज ६ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरमा अवस्थित लिजी–नेचुङ नाका (कोरला) व्यवसायिक रुपमा सञ्चालनमा आएसँगै एक सातामै ६१ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्वासेन हुँदै आएका विद्युतीय (ईभी) गाडी, इलेक्ट्रोनिक्स, विभिन्न तयारी पोसाक, हस्तकला, कस्मेटिक साम्रगीबाट आइतबारसम्म ६१ करोड २४ लाख ५२ हजार दुई सय ४९ रुपियाँ राजस्व सङ्कलन भएको नेचुङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताउनुभयो ।
भन्सार कार्यालय प्रमुख खड्काले भन्नुभयो, ‘‘चिनियाँ भन्सारबाट इभीसहित थप कन्टेनर आउँदै छन्, केहीको जाँचपास बाँकी नै छ ।’’ प्रमुख खड्काल दिएको जानकारी अनुसार विद्युतीय गाडी तीन सय ४३ मध्ये दुई सय दुई सय ३० जाचपास भएको छ । त्यसैगरी एक सय ४२ मालबाहक ढुवानी साधनमध्ये एक सय चार वटा जाँचपाच भएको छ ।
चिनियाँ भन्सारसम्म चिनियाँ चालकले इभी ल्याएर आउने र त्यहाँ भित्रबाट मुस्ताङका चालकले ल्याउनुपर्नेमा मुस्ताङको नागरिकता भएका चालकको सङ्ख्या कम भएकाले इभी दैनिक आउनुपर्ने सङ्ख्यामा आएको छैन । चिनियाँ भन्सारसम्म मुस्ताङ बाहेक अन्य जिल्लाका सवारीचालकलाई प्रवेश अनुमति छैन ।
यसैबिच मुस्ताङतर्फबाट काठका साम्रगी, जाकेटसहित अन्य पोशाक लिएर २ वटा गाडी निकासी भएको छ । बाढीपहिरोका कारण चीनलाई जोड्ने प्रमुख व्यापारिक रसुवा र तातोपानी सञ्चालनमा नआएपछि वैकल्पिक मार्गको रुपमा प्रयोग गरिएको कोरला नाकाबाट असोज १२ गतेसम्म आयात हुने विद्युतीय सवारीसाधनसहितका सामानबाट करिब अरबको हाराहारीमा राजस्व सङ्कलनको अनुमान गरिएको छ । नाका सञ्चालन भएपछि स्थानीयको ब्यापार समेत ह्वात्तै बढेको छ ।
विं.स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका हालसम्म मुस्ताङका पाँच स्थानीय तहका बासिन्दाले घरायसी र सामान्य ब्यापारका लागि सामान आयात गर्ने गरेका थिए । अहिले विद्युतीय सवारीसाधनलाई कोरला–जोमसोम–बेनी हुँदै पोखरासम्म गुडाएरै लगिएपनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको छैन । मालसामान बोकेका कन्टेनरसहितका सवारीसाधनले सडकखण्डमा चहलपहल बढेको छ ।
कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको नेचुङ भन्सार कार्यालयमा जनशक्तिसहितको ब्यवस्थापनले निर्यात तथा आयातकर्तालाई सहज भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताउनुभयो । प्रजिअ भुषालले भन्नुभयो, ‘‘भन्सारबाट छुटेका सवारीसाधनलाई सडकखण्डमा समस्या भएमा समन्वय भइरहेको छ, अहिलेसम्म कुनै समस्या भएको छैन ।’’ भन्सारबाट छुटेका विद्युतीय सवारीसाधन लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङमा रहेका चार्जिङ स्टेशनमा चार्ज गरी गन्तब्यतर्फ लागेका छन् ।
इभीका आयातकर्ताले स्थानीय चालकलाई समेत प्रयोग गरेका छन् । समुन्द्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको थियो । चिनियाँ भूभागबाट आएर मुस्ताङको कोरला भन्सार कार्यालयबाट जाँचपास तथा आयात हुने वस्तुका लागि पनि प्रतीतपत्र (एलसी) खोलिएपछि नेपाली व्यवसायीलाई सहज भएको छ ।