• ६ असोज २०८२, सोमबार

विश्वभर चर्चामा नेपाल

blog

नेपालमा भएको नवयुवा (जेनजी) पुस्ताको दुईदिने आन्दोलन र त्यसले ल्याएको परिवर्तन विश्वभर चर्चित समाचार बनेको छ । यति छिटो समयमा सत्ता परिवर्तन भएको यो विश्वमै बिरलै घटना हो । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले यति छिटो परिवर्तन ल्याउँछ भनी धेरैलाई विश्वासै थिएन । सत्ता तथा प्रतिपक्ष नेताहरूले जेनजी पुस्ताको आन्दोलनलाई सामान्य रूपमा लिए । उनीहरूले समयमै आफू नसुध्रिँदा र आफैँलाई सर्वेसर्वा ठान्दा आन्दोलनले नसोचेको परिणाम ल्याइदियो । भनौँ यो एक किसिमको सपना जस्तै भयो । दुई दिन अकल्पनीय जनधनको क्षति भएको यो आन्दोलनसँगै मुलुक समालिन्न कि भन्ने लाग्यो तर दुईदिने आन्दोलनपछि भने मुलुक पुनः सहजै लयमा फर्कियो । यो आन्दोलनले यसरी सुनामी ल्याउँछ भन्ने नलागेर नै सत्ताधारीहरू चुक्ता मुलुकले महँगो मूल्य चुकाउनु प¥यो । नेपाल विश्वभर चर्चित बन्यो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमको केन्द्रविन्दु बन्यो नेपाल । जेनजी आन्दोलनले ल्याएको सरकार परिवर्तनसहितको राजनीतिक उथलपुथलको घटनालाई विश्वका चर्चित सञ्चार माध्यमले पहिलो प्राथमिकता दिएर समाचार प्रचारप्रसार गरे । 

जेनजी पुस्ताका धेरै ठुला माग पनि थिएनन् । उनीहरूले सामाजिक सञ्जालमा लगाइएको बन्देज हटाउनुपर्ने र भ्रष्टाचार रोकिनुपर्ने माग राखे । साथै जनमैत्री सुशासन हुनुपर्ने मागसहित गत भदौ २३ गते जेनजी पुस्ताले तत्कालीन सरकारविरुद्ध सडक प्रदर्शन सुरु गरे । माइतीघरबाट सुरु भएको प्रदर्शनमा के गर्ने र के नगर्ने भन्ने उनीहरूले आचारसंहितासमेत बनाए । आचारसंहिता पालना गर्दै जेनजीको विशाल प्रदर्शन माइतीघरबाट सुरु भई नयाँ बानेश्वरस्थित संसद्तिर केन्द्रित हुँदै थियो । मध्याह्नको करिब साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटेल हुँदै बिजुलीबजार पुलसम्म कफ्र्यु आदेश जारी भयो । अनायासै कफ्र्यु जारी भएपछि अन्योल हुँदा जेनजीहरू घरतिर जाने तरखर गर्दै थिए । थपिएकाहरूले हुलहुज्जत बढाएर संसद् भवन प्रवेश गर्न खोजेपछि प्रहरीले एक्कासि गोली चलायो । अनि शान्तिपूर्ण प्रदर्शन हिंसात्मक आन्दोलनमा परिणत भयो । त्यही दिन १९ जना युवकले ज्यान गुमाए । कलिला युवकहरू मारिएको यो घटनाले सबैलाई आव्रmोशित बनायो । भोलिपल्ट यसले विस्फोटको रूप लियो । १० औँ हजार मानिस सडकमा उत्रे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा पनि हिंसा र आगजनी रोकिएन । इतिहासमै नभएको हिंसा, आगजनी, तोडफोड र लुटपाट भयो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहित नेताका घर, पार्टी कार्यालयमा आगजनी भयो । दुई दिनको यस आन्दोलनमा ७७ जनाले ज्यान गुमाए भने तीन हजारभन्दा बढी घाइते भए । करिब दुई तिहाइको शक्तिशाली सरकार ढलेसँगै पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते चुनाव गराइने भएको छ । यी सबै घटनाव्रmमलाई विश्वकै चर्चित सञ्चार माध्यमले उच्च प्राथमिकता दिएर समाचार दिए ।  

सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्ने भन्दै तत्कालीन सरकारले बन्द गर्ने घोषणा गरेपछि जेनजी पुस्ता बढी चिढियो । गत भदौ २० गते सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द गर्न पत्र लेख्यो । प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सूची प्रकाशित ग¥यो । सामाजिक सञ्जाल ठप्प भएपछि सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र भ्रष्टाचारको अन्त्य हुनुपर्ने कार्यसूचीमा जेनजी पुस्ताले आन्दोलन ग-यो । यो आन्दोलनले ठुलो परिवर्तन ल्यायो । यो घटना विश्व राजनीतिक आकाशमा मात्र होइन, सञ्चार माध्यममा पनि अनौठो गरी छायो । विश्वका हरेक सञ्चार माध्यमले यसलाई समाचारको मुख्य विषय बनाए । नेपाल विश्वको ध्यानाकर्षण केन्द्र बन्यो । अन्तर्राष्ट्रिय छापा र ब्रोडकास्टिङ मिडियामा प्रमुख स्थान पायो । अलजजिराले एरिएल भिडियोमा ती दृश्य कैद गरेर बनाएको समाचार विश्वप्रख्यात नै बन्यो । अलजजिरा, बिबिसी, एसोसिएट प्रेस, सिएनएन, भारतका नाम चलेका आजतक, जी न्युज, दी हिन्दु, टाइम्स अफ नेपाललगायत विभिन्न मुलुकका सञ्चार माध्यमले नेपालबारे विभिन्न समाचार बनाए । समाचार विश्लेषण गरे । धेरै अन्तर्राष्ट्रिय समाचारमा अब नेपाल बङ्गलादेश जस्तै अस्थिर हुन्छ भन्ने अनुमानसमेत गरे तर अन्तरिम सरकारको गठनसँगै पहिलो महिला प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश कार्कीको नियुक्तिले समाचार फरक दिशातर्फ मोडिए । नयाँ सरकारको गठनपछि संयुक्त राष्ट्रसङ्घलगायत विश्वका मुलुकले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई शुभकामना तथा बधाई सन्देश पठाउन थाले । सरकार गठन र समर्थनका समाचारसमेत विश्वप्रसिद्ध सञ्चार संस्थाले प्रचारप्रसार गरे । अब नेपालमा शान्ति र स्थिरताका लागि यस्तै गरी समाचार सम्प्रेषण होस् भन्ने अपेक्षा गरिएको छ ।