यतिबेला गाउँसहरका दृश्यहरूले दसैँ आगमनको सङ्केत दिएका छन् । दसैँ आउन लागेदेखि नै घर घरमा चहलपहल सुरु हुन्छ । वरपर सबैतिर सफा गरिएका बाटोहरूमाथि तोरण टँगिएका, चोक चोकमा लिँगे, पिर्के, राँहटे पिङ हालिएका दृश्यहरू मनमोहक देखिन्छन् । वर्षायामको हिलो सकिएर जताततै सफा र खुलेको निलो आकाशमुनि हरियाली डाँडाहरू पर परसम्म परेली परेका देखिन्छन् । हिमालहरू यसरी टल्किएका हुन्छन् कि मानौँ माता प्रकृति प्रशन्न मुद्रामा छन् । प्रकृतिमा वैभव छाएको देखिन्छ । शरद् ऋतुमा पर्ने दसैँ प्रकृतिमा सुन्दरता, उल्लासमय वातावरण छाएको हुन्छ । यो ऋतुमा मौसम न त धेरै चिसो न धेरै गर्मी हुने हुन्छ । त्यसैले स्वास्थ्य उत्साह र उत्सवका लागि अनुकूल हुन्छ ।
जताततै सुनिने तथा रेडियो टेलिभिजनमा गुन्जिने मालाश्री (मङ्गल) धुनले दसैँ आउन लागेको सङ्केत दिँदै मनलाई उत्साहित बनाइदिन्छ । आजकल त युट्युब तथा रिलहरूमा पनि मङ्गल धुन बज्छन् । बिहानीपखका सुनौला घामको न्यानो स्पर्शले हरकोहीका लागि दसैँ आगमनको आभाष दिलाउँछ । यस्तो लाग्छ प्रत्येक बिहानीले दसैँलाई अझै नजिक ल्याउँदै छ । साथमा आफन्तजनको आत्मीय मिलन र न्यानोपन नजिकिँदै गएको आभाषले मन विभोर बनाइदिन्छ ।
दसैँको बेलामा गाउँघरमा धेरै रमाइलो हुन्छ । विदेशमा रहँदा दसैँमा अलि खल्लो हुन्छ । आफ्नो देश आफ्ना संस्कृति र आफन्त अनि साथीभाइको याद झल्झली आइरहन्छ तर बिदेसिने बाध्यता भएकाले गर्दा नेपाली विदेशमा पनि साथीसँगी भेला भएर, शुभकामना अदानप्रदान गरेर उपलब्धता अनुसारका मिठा परिकार सँगै खाएर, रमाइलो गरेर मनाउँछन् । यसले विदेशमा पनि नेपाली संस्कृति जोगाइरहनुका साथै प्रवर्धनमा समेत मद्दत पुगेको छ । यस संसारको जुन कुनामा भए पनि राष्ट्रियता र धार्मिक सहिष्णुताका र प्रविधिको सहजताको कारण दसैँको माहोल जीवन्त छ ।
दसैँको सनातन संस्कृति सुरम्य छ । आशीर्वचनको भाव प्रकृतिको शीतलताका बिच आध्यात्मिक चेतना र आन्तरिक शान्तिको अनुभूति प्राप्त गर्न सकिन्छ । बाल्यकालका यादहरूमा घोत्लिँदा लाग्छ कि प्रकृतिको मनोरम सौन्दर्य, सामाजिक मेलमिलाप, परिवारजनको आत्मीय मिलन, नयाँ लत्ताकपडा, मिठा खानाका परिकारहरू दसैँले ल्याउने बहारहरू हुन् । आज पनि ती दृश्यहरू सदावहार छन् । गाउँका घरहरूमा पनि बिदेसिएका छोराछोरीको पुनर्आगमनले रमाइलो छाएको हुन्छ । मूलबाटोमा विदेश (मलेसिया, साउदी कतार, दुवई, बहराइन) बाट लाहुरेहरू आएका देखिन्छन् । नाइलनको डोरीले बुनेर जाली बनाई दह्रो बनाइएका सुटकेस बोकेर आफ्ना परिवारलाई भेट्न आतुर लाहुरेहरू मिलनका पल सम्झिँदै हिँडिरहेका भेटिन्छन् ।
गाउँघरका पाखापखेरा पुलकित देखिन्छन् । खेतभरि लह लह सुनौला धानका पाकेका बाला झुलेका हुन्छन् । बिहानीको सूर्यको किरणले बाला र सँगैका पहेँला पातहरूमा शीत सुन झैँ टल्किएका हुन्छन् । खेतका डिलमा मास र भटमासका पाकेका झ्याँङ झुप्प परेका हुन्छन् । बारीमा कोदोमा बाला लागिसकेको हुन्छ, कोदोको बिच बिचमा गावा कर्कलाका गोला पातहरू पनि देखिन्छन् । बारीका छेउ छेउमा सिलटिम (मस्याङ) र अडहरका कोसा भर्खंरै लाग्दै हुन्छन् । बेडुला खनियाँ पनि मिठा पाकेका हुन्छन् ।
मनभित्रबाट स्वागत गर्न आतुर गाउँघरमा समृद्विको भावना झल्किएको हुन्छ । घरभित्र बाहिर सबैतिर पिँढी आँगन सर्लक्क लिपिएको हुन्छ । गाउँघरमा सबै जसो घर कमेरो र रातो माटोले छेपेर पोतेर उज्याला झललल्ल देखिन्छन् । फूलहरू आँगनका डिलमा लहरै राता पहेँला मालती गुलाबी सेता विभिन्न रङमा फूलेका हुन्छन् । दैलामुनि बोडी करेला भिन्डी घिँरौला लौका फर्सी इस्वारा (इसकुस) प्रशस्त फलेका हुन्छन् । सुन्तलामा अलि अलि अमिलोसहितको मिठास भरिएको बेला हुन्छ । अम्बा दिनानुदिन पाक्ने व्रmममा हुन्छन् भने केरा पसाउने तथा पाक्ने भइरन्छ ।
दसैँ नेपालीले मनाउने एक मौलिक र महान् पर्व हो । असोज शुक्ल प्रतिपदाका दिनदेखि पूर्णिमासम्म १५ दिन (दुर्गा पक्ष) मनाइन्छ । दसैँभरि बिहानै स्नान गरी शुद्ध भई दुर्गा सप्तशती चण्डी पाठ तथा पूजा गर्ने चलन हुन्छ । जब असोज शुक्ल प्रतिपदा अर्थात् दसैँको पहिलो दिन सुरु हुन्छ साइत पारेर सौगातको बीजले घडा सजाइन्छ । पवित्र स्थानमा घटस्थापना गरेर विभिन्न अन्न जौ तिलसँगै गहुँ धान मकैका जमरा राखिन्छ । घटस्थापनामा राखिएका जमरामा नित्य पानी छम्कने र जमरा दिनानुदिन बढेको हेर्दा घरका हुर्कंदै गरेका बच्चाहरूका लागि एउटा राम्रो प्रायोगिक सांस्कृतिक सिकाइ हुन सक्छ । दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन जमरालाई खोलानाला पँधेरा वा पानीको स्रोत भएको स्थानमा लगेर सेलाइन्छ ।
जब यसरी घटस्थापनामा घरभित्र राखिएका जमरा भर्ररै उम्रेका हुन्छन् । कुँडेभरी गाईभँैसीको दुध, आमाले छोराछोरीलाई पठाउन भनी भरेका घिउका डब्बा, मकैको कुन्यु र भकारीमा धान, अनि कोदो र गहुँ पनि हुन्छ आँटीमा । डालाहरूमा मकै, गेँडागुडी, तोरी हुन्छ । हिँउँदमा बुनेर राखेका नयाँ गुन्द्री बेरेर चाङ पारेका राखिएका हुन्छन् । पिँढीको मुड्कामा झुन्ड्याइएको रेडियोले बेला बेलामा मालाश्री (मङ्गल) धुन अनि जय अम्बे जय अम्बे अय अम्बे महकाली... जय दुर्गे जय दुर्गे जय दुर्गे दक्षिणकाली गाइरहेको हुन्छ । गोठमा गाईभैँसी र बाख्रा अनि मलखाता वरिपरि खुर्सानी र भ्यान्टाका बोट अनि नजिकै रायो साग पनि खान मिल्ने बेलाको हुन्छ । तब लाग्छ यी सबै आफ्ना र आफन्त सनातन संस्कृतिमा सजिएका दसैँका माहोलहरू ।
नौ दिनसम्म नवदुर्गा भवानीको पूजापाठ गरिन्छ । दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्राघण्टा, चौथो दिन कुष्माण्डा, पाँचाँै दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठाँै दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ । यस वैदिककालीन संस्कृतिको अनुसरण तथा देवीशक्तिको भक्तिभावबाट मनमा शान्ति, स्वच्छन्दता र आध्यात्मिक चेतना प्राप्त गर्न सकिन्छ ।
फूलपातीको दिन नयाँ पालुवा हालेका उखु, केरा, बेलपत्र, अशोक तथा हलेदो धानको गाँज आदि फूलपाती र फलफूलहरू घरमा भिœयाइन्छ । अष्टमीको दिन कालरात्रिको पूजा साथै घरमा भएका सबै औजारको पूजा गरिन्छ । कतै कतै खसी कुखुरा हाँस च्याङ्ग्राको बलि दिने र शाकाहारीले नरिवल केरा कुभिन्डो घिरौँला चढाउने चलन हुन्छ । हाम्रो समाजमा बलि प्रचलनको आआफ्नै मान्यता छ । बलि दिनुको अर्थ त्याग गर्नु हो । हामीमा निहित नकारात्मक तìव जस्तै काम व्रmोध, लोभ मोह, अहङ्कार जस्ता विकारको त्याग गर्नुलाई बलि दिने प्रतीकका रूपमा लिन सकिन्छ । नवमीको दिन देवी सिद्विदात्रीको पूजा गरिन्छ । विभिन्न मौलिक पारम्पारिक रोटीहरू सेलरोटी, फिनी, अर्सा, अनरसा, घिउ झर तथा मिठाई बनाउने तथा सबै परिवारसँगै बसेर खांँदै रमाइलो गरिन्छ ।
हामी नेपालीले विजया दशमी अर्थात् बडादसैँ धुमधामका साथ मनाउँदै आएका छौँ । पौराणिक कालमा शक्तिस्वरूपा दुर्गादेवीले महिसासुरलगायत अति शक्तिशाली असुरहरूमाथि विजय प्राप्त गरेको र त्रेता युगमा मर्यादा पुरुषोत्तम रामले रावणमाथि विजय प्राप्त गरेको उपलक्ष्यमा विजयादशमी मनाइँदै आइएको हो । दसैँको दिन देवी विसर्जन गरी देवीको प्रसाद स्वरूप मान्यजनबाट रातो रङका अक्षता, पहेँला जमरासहित आशीर्वाद ग्रहण गर्ने गरिन्छ ।
दसैँको दिन बिहानैदेखि घरमा सबै तयारी सुरु हुन्छ । अक्षता भिजाउने, देवी विसर्जन गरी खाना तयार गर्ने तथा गाईवस्तुका लागि घाँसपातको व्यवस्था मिलाउने सबै काम सकिन्छन् । साइतमा मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिन्छ । टीका लगाइसकेपछि घर परिवार मिलेर मिठा मिठा परिकार खाइन्छ । साथै गाउँघरमा अरू मान्जनहरूको घरहरूमा टीका र आशीर्वाद ग्रहण गर्दा सामाजिक सामीप्यताको अनुभूति हुन्छ । साना केटाकेटीले वरपर रहेका गाउँघरमा टीका लगाउँदै दक्षिणा सङ्कलन गर्ने, मिठा परिकार खाँदै हिँड्ने, पिङ खेल्ने, विभिन्न खेल खेल्दै, समूह बनाई फुरुङ पर्दै हिँडेका दृश्यहरू साँच्चै नै रोमाञ्चक देखिन्छन् ।
नेपाल एक बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विविधतासहितको एकता भएको देश हो । त्यसैले चाडपर्व मनाउने शैली पनि विभिन्न प्रकारका छन् । दसैँ उत्साह र उमङ्गको पर्व भएकाले दसैँमा गरिने भेटघाट, मेलमिलाप, सामूहिक मनोरञ्जनबाट मनमा आनन्द र पुनर्ताजगी प्राप्त हुन्छ । मानव जीवनचव्रmमा अनेकाँै सुख दुःख आउने जाने भइरहन्छ । हरेक पलहरू आनन्दमयी नहुन पनि सक्छन् । चाडपर्वको समयमा अवस्था प्रतिकूल नै भए पनि संयमता र धीरता अपनाएर परिवारसँगै रहेर भावनाहरू साटासाट गर्न सकिन्छ । आआफ्ना संस्कार अनुसार सदाचारमा रहेर संयमित तवरले चाडपर्व मनाउँदा हाम्रो अनुपम धार्मिक सहिष्णुता सर्वत्र झल्किन्छ ।