• ६ असोज २०८२, सोमबार

सरकारी सेवा सहज बनाउन संघ–संस्थाद्वारा सहयोग

blog

फोटोग्राफर एशोसिएसन तनहुँद्वारा फर्निचर सहयोग गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 
तनहुँ, असोज ६ गते ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजानीले क्षतिग्रस्त भएका कार्यालयको सेवा सुचारु गर्न यहाँका सामाजिक अभियान्ताहरुले सहयोग जुटाउन थालेका छन् ।

सरकारको मात्रै भर पर्दा सेवा सुचारु गर्दा ढिलो हुने भन्दै सामाजिक अभियान्ता दमौलीका सुदिप गफ्फारको नेतृत्वमा सहयोग जुटाउन थालिएको हो । उनिहरु जिल्लामा विभिन्न संघसंस्थासँग समन्वय गरी सहयोग जुटाउन थालेका हुन् । जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत तथा शुक्लागण्डकी नगरपालिकाका केही वडा कार्यालयका महत्त्वपूर्ण कागजात, उपकरण र फर्निचर जलेर नष्ट भए, जसका कारण सेवा प्रवाहमा असहजता सिर्जना भएको थियो ।

यसै परिस्थितिमा सरकारी सेवाको निरन्तरता र सहज सञ्चालनका लागि विभिन्न संघ–संस्थाहरुले आवश्यक सामग्री सहयोग गरेका छन् । तनहुँ ख्रिष्टियन समाजले जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतलाई कम्प्युटर तथा प्रिन्टर सहयोग गरेको छ ।  समाजका अध्यक्ष केभी आलेले एक लाख रुपियाँ बराबरको सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले उक्त सहयोगले कार्यालय सञ्चालनमा केही सहयोग पुगेको बताउनुभयो ।

फोटोग्राफर एशोसिएसन तनहुँले जिल्ला प्रशासन कार्यालयलाई पाँच थान कुर्ची सहयोग गरेको छ । एशोसिएसनका अध्यक्ष लोकबहादुर कुमाल, सचिव अश्विनकिशोर श्रेष्ठ, निवर्तमान अध्यक्ष बलभद्र श्रेष्ठ र सदस्यहरूको उपस्थितिमा कुर्ची जिल्ला प्रशासन कार्यालयका जिन्सी शाखा प्रमुख गोपाल पोख्रेललाई हस्तान्तरण गरिएको थियो ।

शुक्लागण्डकी नगरपालिका–२ को वडा कार्यालयमा पनि वडावासीको सक्रिय सहभागितामा सेवा पुनः सञ्चालनमा आएको छ । कार्यालय सञ्चालनका लागि आवश्यक टेबल, कुर्ची, दराज र प्रिन्टर वडावासीले सहयोग गरेका छन् । वडाध्यक्ष सुमनबहादुर राना मगरले जनताको सहयोगले सरकार र जनताबिच सुमधुरसम्बन्ध स्थापित हुन सहयोग पुगेको बताउनुभयो ।

यस सहयोगमा नर्सरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले एक थान प्रिन्टर, नर्सरी युवा क्लबले दुई थान टेबल र १० थान प्लाष्टिक कुर्ची, कालिका टोल विकास संस्थाले १० थान कुर्ची, र शिवटोल विकास संस्थाले एक थान स्टिल दराज र ६ थान कुर्ची उपलब्ध गराएका छन् । युवा क्लब, खानेपानी समिति र टोल विकास संस्थाका प्रतिनिधिहरूले वडाध्यक्ष र कार्यपालिकासँगै सामग्री हस्तान्तरण गरेका छन् । यस सहयोगले सरकारी सेवाको निरन्तरता सुनिश्चित गर्न मात्र नभई, सरकार र जनताबीच आपसी विश्वास र सहयोगको सुमधुर सम्बन्ध पनि प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ ।