सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, असोज ६ गते । सिन्धुलीको गोलन्जोर गाउँपालिका–३, ग्वाल्टारमा आइतबारदेखि औपचारिक रूपमा १५ शøयाको आधारभूत अस्पताल सञ्चालनमा आएको छ ।
‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ भन्ने सरकारको नीति अनुसार ग्वाल्टारमा उक्त आधारभूत अस्पताल सञ्चालनमा आएको हो । गाउँपालिका अध्यक्ष शङ्करराज बरालले आइतबार एक समारोहबिच अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेपछि सेवा प्रारम्भ गरिएको छ । सो अवसरमा गाउँपालिका अध्यक्ष बरालले ग्वाल्टारमा सञ्चालित स्वास्थ्य चौकीको स्तरोन्नति गरी १५ शøयाको आधारभूत अस्पतालमा परिणत गरिएको बताउनुभयो । उहाँले नवनिर्मित भवन अस्पतालका लागि हुनुपर्ने मापदण्ड अनुसारको निर्माण भएको बताउनुभयो । अब स्थानीयवासीले गाउँघरमा नै आधारभूत स्वास्थ्य सेवा पाउने जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्पतालका लागि गाउँपालिकाले कार्यालय सहयोगीबाहेक ३२ जना विभिन्न तहका कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । अहिले एक जना एमबिबिएस चिकित्सक व्यवस्था गरी नागरिकलाई सेवा प्रारम्भ गरिएको हो । गाउँपालिका अध्यक्ष बरालले भन्नुभयो, “स्रोतसाधन जुट्दै गएपछि त्यही अनुसार जनशक्ति पनि थपिँदै जाने छन् । अस्पताल पूर्ण रूपमा सञ्चालन हुँदा नौ जना विशेषज्ञ चिकित्सक रहने व्यवस्था गरिएको छ ।”
उक्त अस्पतालले गोलन्जोरसँगै फिक्कल, सुनकोशी, रामेछाप, ओखलढुङ्गा र खोटाङका सीमावर्ती क्षेत्रका नागरिकलक्षित सेवा प्रवाह गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार ब्याक टु लाइफ इभी जर्मनीको आर्थिक सहयोग तथा समुदाय पद्धति विकास सेवा (सिएसडिएस) सिन्धुलीको प्राविधिक सहयोगमा निर्माण भएको हो । अस्पताल भवन छ करोड ७६ लाख २१ हजार १३५ रुपियाँको लागतमा एआरडी कन्स्ट्रक्सनले १८ महिनामा निर्माण सम्पन्न गरेको छ ।
अस्पताल सञ्चालनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा र गोलन्जोर गाउँपालिकाबिच स्वास्थ्य सेवा र शिक्षामा सहकार्य गर्न साउन २२ गते सम्झौता भएको थियो । स्वास्थ्य विज्ञान शिक्षालाई व्यावहारिक बनाउने र गाउँ स्तरसम्म गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले सम्झौता गरिएको गाउँपालिका अध्यक्ष बरालले जानकारी दिनुभयो ।
सम्झौता अनुसार अब मदन भण्डारी प्रतिष्ठानका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीले गोलन्जोर आधारभूत अस्पतालमा प्रत्यक्ष अभ्यास गर्ने अवसर पाउने छन् । प्रतिष्ठानले अस्पतालमा आवश्यक परेमा प्राविधिक कर्मचारी पठाउने, तालिम दिने, डिजिटल स्वास्थ्य सेवाको प्रयोगलाई प्रोत्साहन गर्ने र अनुसन्धानका आधारमा स्वास्थ्य नीति निर्माणमा सघाउने प्रतिबद्धता जनाएको छ । सहकार्य पाँच वर्षका लागि हुने छ र आवश्यकता अनुसार नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । दातृ निकायले एक करोड रुपियाँ बराबरको विभिन्न किसिमको स्वास्थ्य उपकरण पनि उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । नौ वटा स्थानीय तह रहेको सिन्धुलीमा हालसम्म कमलामाई नगरपालिकामा एक सय शøयाको अस्पताल सञ्चालनमा रहेको छ । त्यस्तै दुधौली नगरपालिका, तीनपाटन र फिक्कल गाउँपालिकाले पनि १५ श-याको अस्पतालका लागि भवन निर्माण गरी सेवा सञ्चालनमा ल्याइसकेका छन् । बाँकी हरिहरपुरगढी, मरिण, सुनकोशी गाउँपालिकामा आधारभूत अस्पताल भवन धमाधम निर्माण भइरहेको छ । घ्याङलेख गाउँपालिका–३, सोलाभन्ज्याङमा भने डिपिआर भएको वर्ष दिन बितिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन ।