• ६ असोज २०८२, सोमबार

राजनीतिक दल कार्यालय सञ्चालनतर्फ

blog

आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त नेकपा (एमाले) सिन्धुलीको कार्यालय भवन । तस्बिर : बाबुराम देवकोटा

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, असोज ६ गते  । सिन्धुली जिल्लामा प्रमुख तीन राजनीतिक दल जेनजी समूहको आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएका आफ्ना पार्टी कार्यालय सञ्चालनमा जुटेका छन् ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगजनीबाट ध्वस्त पार्टी कार्यालयको सरसफाइ गरी सञ्चालनमा जुटेको जनाएका छन् । आगजनी तथा तोटफोडबाट भवनसहित फर्निचर, कागजपत्र र पार्टीका अन्य दस्ताबेज जलेर नष्ट भएको राजनीतिक दलले जनाएका छन् । सबैभन्दा बढी क्षति नेकपा (एमाले) को पार्टी कार्यालयले बेहोरेको छ । 

नेपाली कांग्रेसका जिल्ला सभापति उपेन्द्रकुमार पोखरेल उक्त आगजनी र तोडफोडबाट जिल्ला पार्टी कार्यालयको भवनसहित अन्य सामान जलेर नष्ट हुँदा करिब ३० लाख मूल्य बराबरको क्षति भएको बताउनुहुन्छ । क्षति भएको पार्टी कार्यालय पुनर्निर्माणका लागि जुटिरहेको र पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकलगायतसँग स्वेच्छिक सहयोग आह्वान गरिएको उहाँले जानकारी दिनुभयो ।

पार्टी कार्यालय पुनर्निर्माणका लागि हालसम्म पार्टीको राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खातामा स्वेच्छिक सहयोगबापत करिब सात लाख रुपियाँ जम्मा भइसकेको कांग्रेसले जनाएको छ । त्यस्तै एमालेको पुरानो काठको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । भर्खर निर्माण सम्पन्न भएको नयाँ चारतले भवनसमेत क्षति भएको सो पार्टीले जनाएको छ ।

आगजनी र तोडफोडबाट दुई वटै भवनमा गरी एक करोड ८० लाख रुपियाँ बराबरको क्षति भएको नेकपा (एमाले) सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आगजनीबाट ध्वस्त पार्टी कार्यालयको सरसफाइ गरी झन्डा राखेका छौँ ।” 

जलेकै भवनमा उभिएर पार्टीको सातौँ आकस्मिक पूर्ण बैठक बसी आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको उहाँले बताउनुभयो । नयाँ भवनको पुनर्निर्माण गर्नुपर्ने कि मर्मत गरेर सञ्चालन गर्न सकिने भन्ने इन्जिनियरले हेरेपछि मात्र भन्न सकिने जिल्ला अध्यक्ष श्रेष्ठको भनाइ छ । यस्तै माओवादीले पनि आफ्नो जिल्ला पार्टी कार्यालयमा झन्डै ३० लाख रुपियाँ बराबरको क्षति भएको जनाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद लेखनाथ दाहाल (राजन) ले क्षतिग्रस्त भवन मर्मतका लागि दैनिक ४०/५० जना मजदुरले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उधारोमा बजारबाट सामान ल्याएर मर्मत गर्ने काम भइरहेको छ । अब तीन दिन जतिमा सकिन्छ । ९० प्रतिशत काम सकिएको छ ।”