• ६ असोज २०८२, सोमबार

दसैँमा किसानलाई सहकारीको बोनस

blog

पश्चिम नवलपरासी समाचारदाता

पश्चिम नवलपरासी, असोज ६ गते । चाडपर्वको अवसर पारेर नवलपरासीको सुनवल–१२, भुमहीस्थित भुमही दुग्ध सहकारी संस्थाले आफ्ना किसानलाई बोनस वितरण गरेको छ । दुध बिक्रीको रकम समयमै नआउँदा निराश किसानलाई सहकारीले गत आर्थिक वर्षको उत्पादनका आधारमा बोनस वितरण गरेको हो ।

सहकारीका अध्यक्ष भूपराज भट्टराईका अनुसार तीन सय किसानलाई २१ लाख रुपियाँ बोनस वितरण गरिएको छ । सहकारीमार्फत एक वर्षमा ४१ हजार सात सय लिटर दुध बिक्री गरेका विजय यादवले सबैभन्दा बढी ९४ हजार रुपियाँको चेक प्राप्त गर्नुभयो । यादवले नियमित भुक्तानी र बोनस दुवै फाइदा आफ्नो मेहनतको उचित मूल्याङ्कन भएको भन्दै खुसी हुनुभयो ।

सहकारीले किसानलाई प्रतिलिटर दूधमा दुई रुपियाँ २५ पैसा अतिरिक्त रकम दिँदै आएको छ । यसमा सहकारीले एक रुपियाँ २५ पैसा थप्ने र किसानले एक रुपियाँ योगदान गर्ने प्रावधान छ । गत आवमा लुम्बिनी प्रदेश सरकारले पनि प्रतिलिटर एक रुपियाँ ४६ पैसा प्रोत्साहन दिएको थियो, जसका आधारमा किसानले नौ लाख रुपियाँ बोनस पाएका थिए । चालु आवदेखि प्रदेश सरकारले उक्त कार्यव्रmम कटौती गरेकाले किसान निराश भएको सहकारीका व्यवस्थापक अग्निधर भुसालले बताउनुभयो । एक वर्षमा सहकारीले नौ लाख आठ हजार लिटर दुध सङ्कलन गरी १५ करोड ६३ लाख रुपियाँको कारोबार गरेको छ । अध्यक्ष भट्टराईले सहकारीले ११ लाख ७५ हजार रुपियाँ शुद्ध नाफा आर्जन गरेको जानकारी दिनुभयो ।

हाल सहकारीमा ९४८ जना सेयर सदस्य छन्, जसमा ५०७ जना महिला सदस्य छन् । दुध बिव्रmी रकम समयमै नआउँदा कहिलेकाहीँ भुक्तानीमा समस्या भए पनि सहकारीले आफ्नै स्रोतबाट किसानलाई मासिक भुक्तानी गर्दै आएको छ । किसानले उत्पादन खेर जान नदिन र नियमित भुक्तानी सुनिश्चित गर्न राज्यको ध्यानाकर्षण गराएका छन् ।

बोनस वितरणपछि वैदेशिक रोजगारीबाट फर्किएका धेरै युवापुस्तासमेत पशुपालन व्यवसायतर्फ आकर्षित भएका छन् । सहकारीले किसानको उत्पादन सुरक्षित राख्दै उनीहरूलाई थप प्रेरित गरेको किसानको भनाइ छ ।