जनार्जन खत्री
सर्लाही, असोज ४ गते । हरिवन–क्यानेश्वर सडक अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका १ र ८ को सिमामा पर्ने चापिनी खोलामा पुल निर्माण भएपछि आवत जावतमा सहज भएको छ ।
पुल निर्माण भएर सञ्चालनमा आएसँगै सर्वसाधारण खुसी भएका छन् । हरिवन नगरपालिकाले ८५ लाख रुपियाँ खर्चिएर पक्की पुल निर्माण गरेको हो । २०८१ असारदेखि सुरु गरी भर्खरै पुल निर्माण कार्य सम्पन्न भएको नगरपालिका कार्यालयले जनाएको छ ।
नगरपालिकाको योजना तथा प्राविधिक शाखाका इन्जिनियर जकी अहमद सिद्धकीले पुल निर्माणको काम पूरा भएको जानकारी दिनुभयो । इन्जिनियर सिद्धकीका अनुसार निर्माण सम्पन्न भएको पुलबाट सवारी साधन आउजाउ गर्न थालिसकेका छन् । उहाँले भन्नुभयो, “पुल बनिसकेकाले अब पहिलेजस्तो चिन्ता छैन्, पुलबाटै सबै प्रकारका सवारी साधन सञ्चालन हुन थालेका छन् ।”
निर्माण कम्पनी बागमती कन्ष्ट्रक्सन बागमती सर्लाहीले सम्झौताअनुसार १८ मिटर लम्बाई र सिङ्गल स्पान भएको पुल निर्माण गरेको हो । खोलामा पुल नहुँदा हरिवन–क्यानेश्वर सडकमा सवारी आवागमन नै प्रभावित हुँदैआएको थियो ।
बाढी आएको दिन सिन्धुलीको क्यानेश्वरतर्फबाट यात्रु बोकेर आएका गाडी अलपत्र पर्ने गरेका थिए । पुल निर्माण भएसँगै हरिवन नगरपालिका–१ र सिन्धुलीको क्यानेश्वर क्षेत्रका स्थानीयलाई हरिवन बजारसम्म आउजाउ गर्न सहज भएको हरिवन–१ का वडाध्यक्ष टमबहादुर तामाङले जानकारी दिनुभयो ।
यस ठाउँमा यसअघि पुल नहुँदा बाढी आएको समयमा हरिवन–१ को अधिकांश भू–भागका बासिन्दाको हरिवन बजारतर्फ आउजाउ ठप्प हुने गरेको थियो । वडाध्यक्ष तामाङले भन्नुभयो, “पुल बनेपछि त धेरै राहत भयो, नत्र त पहिले बाढी आएको दिन गाडीघोडा र मान्छे केहीको पनि ओहोरदोहोर हुँदैनथ्यो ।”
पक्की पुल निर्माण भएको स्थानमा नगरपालिका कार्यालय पहुँच सडक (एपरोज रोड) कालोपत्रेका लागि ठेक्का लगाइसकेको छ । इन्जिनियर सिद्धकीका अनुसार दसैँ, तिहार लगत्तै पहुँच सडक कालोपत्रेको काम अघि बढाउने तयारी गरिएको छ ।