काठमाडौँ, असोज ४ गते । भाद्र २३ र २४ गते जेनजी उमेर समूहको नाममा भएको आन्दोलनको प्रत्यक्ष प्रभावमा बालबालिका परेका छन् । जेनजी समूहमा बालबालिकादेखि युवा उमेर समूहका बालबालिका पर्ने भएकाले आन्दोलनमा बालबालिका सहभागिता हुँदा त्यसले ठुलो क्षति बेहोर्नुपरेको छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले ‘नेपालमा जेनजी नेतृत्वको राजनीतिक आन्दोलनमा बालबालिका तथा युवाको अधिकार उल्लङ्घन र तत्कालका आवश्यकताहरूको द्रुत मूल्याङ्कन’ प्रतिवेदन सार्वजनिक गर्दै जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभाव बालबालिकामा परेको उल्लेख गरेको छ । पछिल्लो सरकारी तथ्याङ्क अनुसार आन्दोलनका कारण हालसम्म ७३ जनाले ज्यान गुमाएका छन् । जसमा दुई जना बालक र एक जना बालिका गरेर तीन जना बालबालिकाको समेत मृत्यु भएको छ ।
भाद्र २३ गते सामाजिक सञ्जाल नियन्त्रण र भ्रष्टाचारविरुद्ध सरकारको जबाफदेहिता तथा पारदर्शिता माग गर्दै जेनजीले सडकमा सुरु गरेको प्रदर्शन सुरुमा शान्तिपूर्ण रूपमा भएको प्रदर्शन राज्यको अत्यधिक बल प्रयोगका कारण हिंसात्मक बन्न पुगेको थियो । सोही दिन १९ जनाको मृत्यु भएको थियो । उक्त घटनापश्चात् भाद्र २४ र २५ गते आन्दोलनले झन् उग्र रूप लिएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव नवराज सापकोटाले हरेक आन्दोलनपछि बेचबिखनको जोखिम बढ्ने सम्भावना बढी हुने भन्दै यस कुरामा पनि सबैले सचेत भएर काम गर्नुपर्ने बताउनुभयो ।
यसैगरी सिजपका अध्यक्ष तिलोत्तम पौडेलले जेनजी आन्दोलनका क्रममा ७४ जनाको मृत्यु तथा १९७३ जना घाइते भएको भन्दै अझैपनि करिब ३०० घाइतेको उपचार भइरहेको बताउनुभयो ।
सिजपले तत्कालका लागि द्रुत प्रतिवेदन बनाउँदा जे जति गर्न सकियो त्यस आधारमा प्रतिवेदन तयार गरिएको भन्दै अध्यक्ष पौडेलले अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
बालबालिकालाई गलत सूचनाबाट जोगाउनुपर्ने अहिलेको अनिवार्य आवश्यकता भएको भन्दै उहाँले यी कुरामा अभिभावक पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
सिजपका महासचिव राजु घिमिरेले अहिलेको वर्तमान परिस्थितिका बारेमा जानकारी दिँदै कुनैपनि आन्दोलनरत पक्षले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनैपनि नाममा आन्दोलनमा सहभागी गराउन नपाइने कानुनी व्यवस्थालाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो
बालअधिकारकर्मी तारक धितालले बालबालिकाको सहभागिताको अधिकार भए पनि त्यो अधिकार कतिखेर प्रयोग हुन्छ त्यस कुरामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो