• ४ असोज २०८२, शनिबार

युरोपेली विमानस्थल साइबर अवरोधबाट प्रभावित

blog

लन्डन (बेलायत), असोज ४ गते । ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायतका प्रमुख युरोपेली विमानस्थल शनिबार “साइबर-सम्बन्धित अवरोध”बाट प्रभावित भएको जनाइएको छ । अवरोधले चेक-इन र ब्यागेज ड्रप प्रणालीलाई असर गर्दा सेवा प्रभावित भएको सेवा प्रदायक कोलिन्स एरोस्पेसलाई उदृत गर्दै एएफपीले जनाएको छ ।   

युरोपेली हवाई सेवा प्रदायकहरुले अवरोधको सामना गर्दा उडानमा ढिलाइ तथा उडान रद्द हुने चेतावनी दिए पछि ‘एयरस्पेस फर्म’ ले सम्बन्धित एयरपोर्टका सफ्टवेयरमा साइबर-सम्बन्धित अवरोधको बारेमा सचेत भएको जनाएका छन् । अवरोध इलेक्ट्रोनिक ग्राहक चेक-इन र ब्यागेज ड्रपमा मात्र भएकाले म्यानुअल चेक-इन अपरेसनद्वारा सेवा प्रवाह गर्न सकिने कोलिन्स एरोस्पेसले बताउनुभएको छ ।  

शुक्रबार राति ’साइबर आक्रमण’ को चपेटामा परेपछि ब्रसेल्स विमानस्थलबाट कम्तीमा १० वटा उडानहरू रद्द गरिएको तथा अन्य १७ वटा उडान ढिलाइ भएको विमानस्थलले जनाएको छ । ब्रसेल्समा म्यानुअल चेक-इन र बोर्डिङ सेवा सुचारु गरिएको थियो, भने शनिबार उडान गर्ने यात्रुलाई एयरपोर्टमा जानु अघि एयरलाइन्ससँग सम्पर्क गरी उडानको स्थिति जाँच गर्न सुचना जारी गरिएको थियो ।

लन्डनको हिथ्रो एयरपोर्टमा भने चेक-इन र बोर्डिङ प्रणाली पनि ’प्राविधिक समस्या’ बाट प्रभावित भएकाले उडानमा ढिलाई हुनु सक्ने जनाइएको छ । बर्लिन विमानस्थलको वेबसाइटमा अवरोधका कारण युरोपमा चेक-इनमा यात्रुलाई लामो समय प्रतीक्षा गर्नु परेको जनाएको छ । रासस/एएफपी