• ४ असोज २०८२, शनिबार

चमन सीमाबाट अफगान शरणार्थीको फिर्ता पुनः सुरु

blog

चमन (पाकिस्तान), असोज ४ गते । यस अघि भएको घातक बम विस्फोटपछि स्थगित भएको चमन सीमा हुँदै अफगान शरणार्थीहरूको फिर्ती शुक्रबार पुनः सुरु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । 

उक्त विष्फोटमा छ जनाको ज्यान गएको पाकिस्तानी पत्रिका डनले जनाइएको छ । सीमावर्ती सहरको ट्याक्सी स्टेसनमा शक्तिशाली विस्फोट भए पछि बिहीबार फिर्ता प्रक्रिया रोकिएको अधिकारीहरूले बताएका छन् । ठूलो सङ्ख्यामा अफगानहरू घर फर्कन पाकिस्तान-अफगान सीमामा भेला भएको अवस्थामा विष्फोट भए पछि स्वदेश फिर्ता स्थगित गरि उनीहरूको सुरक्षाका लागि उक्त स्थानबाट स्थानान्तरण गरिएको अधिकारीहरुले जनाएका छन् । 

सहायक आयुक्त चमन इम्तियाज बलूचले विस्फोटको पुष्टि गर्नु भएको छ भने प्रहरीले प्रारम्भिक अनुसन्धानले घटना स्थलका पसलहरू बाहिर विस्फोटक पदार्थ राखिएको जनाएको छ । सुरक्षा चिन्ता र कडा सीमा व्यवस्थापनको आवश्यकतालाई उद्धृत गर्दै पाकिस्तानले गत वर्ष कागजात विहीन अफगान नागरिकलाई फिर्ता गर्ने अभियान सुरु गरेको थियो । 

सरकारी तथ्याङ्क अनुसार कानुनी कागजात बिना १० लाख भन्दा बढी अफगानीहरू पाकिस्तानमा बसिरहेका छन् । यो नीति लागु भएदेखि दशौँ हजारलाई चमन र तोरखाम सीमाबाट स्वदेश फिर्ता गरिएको डनले जनाएको छ । अधिकारीहरूले अभियानको उद्देश्य वैध भिसा र शरणार्थी कार्ड भएका व्यक्तिहरूको मात्र पाकिस्तान बसाइ सुनिश्चित गरी गैर कानुनी रुपमा बस्दै आएकाहरुलाई फिर्ता गर्नु रहेको जनाएका छन् ।  

यद्यपि, मानव अधिकारबादीहरुले नीतिलाई अप्रत्यासित तथा कठोर भन्दै आर्थिक कठिनाइ र आधारभूत सेवाको अभावका कारण अफगानिस्तानले अनिश्चित भविष्यको सामना गर्नु परेको चेतावनी दिएका छन् । रासस/एएनआई