• ४ असोज २०८२, शनिबार

महिला र बालिकाका अधिकारमा १०६ देशहरूको साझा प्रतिबद्धता

blog

संयुक्त राष्ट्र, असोज ४ गते । गत ३० वर्षमा महिला र बालिकाको अधिकार र समानताका लागि अन्तर्राष्ट्रिय पहल अन्तर्गत, १०६ देशहरूले १९१ प्रतिबद्धता जनाएका छन् । यी प्रतिबद्धता सन् २०३० सम्म महिलाको जीवनमा सुधार ल्याउन र समानताको लक्ष्य पूरा गर्न बनाइएका हुन् ।

संयुक्त राष्ट्र महिलाले शुक्रबार ‘बीजिङ+३० प्राथमिकता कार्यसूची ड्यासबोर्ड’ सार्वजनिक गरेको छ । यो डिजिटल प्लेटफर्मले विभिन्न देशले लिङ्ग समानताका लागि गरेका स्वेच्छिक प्रतिबद्धतालाई एक ठाउँमा देखाउने काम गर्छ । यसले विश्वभरिका प्रतिबद्धता कहाँसम्म पुगेका छन् भन्ने कुराको पनि जानकारी दिन्छ र जवाफदेहिता कायम गर्न सहयोग गर्छ ।

संयुक्त राष्ट्र महासभाको ८० औं अधिवेशनको उच्चस्तरीय सत्रको अगाडि विश्वले लिङ्ग समानता शान्ति, न्याय र मानवअधिकारको आधारशिला हो फेरि एक पटक पुष्टि गरेको छ । संयुक्त राष्ट्र महिलाका कार्यकारी निर्देशक सीमा बहौसले भन्नुभयो, “महिला र बालिकाका अधिकारको पक्षमा देखाइएको यो सक्रिय प्रतिबद्धताले लिङ्ग समानता विश्वलाई एकतामा बाँध्ने एक बलियो शक्ति हो र बहुपक्षवाद यसलाई साकार पार्न कटिबद्ध रहेको देखाउँछ ।”

दर्ता गरिएका प्रतिबद्धतामध्ये लगभग एक तिहाइले महिला र बालिकामाथि हुने हिंसा रोक्न जोड दिएको छ । यसका साथै ४६ देशले अन्तर्राष्ट्रिय सम्झौता र ‘दिगो विकास लक्ष्य’ लाई आफ्नो नीति र कार्यक्रममा समावेश गरेका छन् ।

अन्य प्रतिबद्धतामा सामाजिक भेदभाव हटाउने, लिङ्ग समानताका लागि आवश्यक बजेट वृद्धि गर्ने, तथ्याङ्क सङ्कलन गर्ने, जवाफदेहिता कायम गर्ने र महिला अधिकारकर्मी तथा सङ्घ–सङ्गठनसँग सहकार्य गर्ने विषय समेटिएका छन् । सेप्टेम्बर २२ मा उच्चस्तरीय बैठक आयोजना गरिने छ । 

यो बैठकले ३० वर्षअघि भएको चौथो विश्व महिला सम्मेलनको सम्झनामा विश्वका नेतालाई भेला पारेर उनीहरूलाई आफ्नो प्रतिबद्धताहरू पूरा गर्न जोड दिने छ । यस डिजिटल ड्यासबोर्डले देशहरूको प्रतिबद्धता अनुगमन गर्न, पारदर्शिता कायम गर्न र जवाफदेहिता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । रासस/सिन्ह्वा