काठमाडौँ, असोज ४ गते । मलेसियामा खेल्ने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । नेपालले मलेसिया महिला राष्ट्रिय क्रिकेट टोलीसँग अक्टोबर २ देखि ८ तारिखसम्म पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ ।
त्यसअघि नेपाली महिला टोलीका खेलाडीले विभिन्न टोलीमा रहेर मलेसियन सुपर वुमन सिरिज खेल्ने छन् । मलेसियन क्रिकेट एसाेसिएसनको आयोजनामा सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा पाँच वटा फरक टोलीबिच प्रतिस्पर्धा हुने छ ।
टी–२० सिरिज सुपर सिरिजमा सेन्ट्रल सुपर गर्ल्स, इस्टर्न लायनेस, नर्थन क्वीन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमनले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली महिला टोली
इन्दु वर्मा, पूजा महतो, राममति ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्रा धामी, कविता कुँवर, रुविना क्षेत्री र सीता रानामगर ।