• ४ असोज २०८२, शनिबार

लमजुङमा अलैंची : २० करोड बराबरको उत्पादन हुने

blog

लमजुङको मर्स्याङ्दी–६, बाहुनडाँडाका किसान अलैंची छोडाउँदै । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, असोज ४ गते । लमजुङमा अलैंची टिप्न सुरु भएको छ । एक हजार दुईसय मिटर उचाइसम्म लगाइएका अलैंची टिप्न सुरु गरिएको हो ।

मर्स्याङ्दी गाउँपालिका–७, ताराचोक शेराका किसान डम्बरसिंह अधिकारीले डम्बरसाई र जिर्मले जातको अलैंची पाकेकाले टिप्न सुरु गरिएको बताउनुभयो । “यो वर्ष छिटो नै अलैंची पाक्यो, टिप्ने काम पनि छिटो नै भयो” अधिकारीले भन्नुभयो, “अब सुकाएर ग्रेडिङ गरेर बेच्छौं ।” ताराचोकका किसानले ४० रोपनीभन्दा बढी क्षेत्रफलमा अलैंची खेती गरेका छन । 

“गाउँका सबै किसानलाई अलैंची टिप्ने चटारो छ” स्थानीय इन्द्रप्रसाद तामाङले भन्नुभयो, “स्थानीयले खेर गइरहेको पाखोबारी र धान खेत मासेर अलैंची लगाएका छन् ।” अलैंची खेतीबाट मनग्य आम्दानी हुन थालेपछि बसाइँ सरेर गएका समेत गाउँ फर्केका छन् । बसाइँ सरेपछि ६ घरपरिवार मात्र रहेको मस्र्याङ्दी–७, लुदी गाउँमा अहिले १९ घरपरिवार भएका छन् । 

स्थानीय रामप्रसाद तामाङका अनुसार सहरबजार झरेका समेत गाउँ फर्केर अलैंची खेती गरिरहेका छन् । लुदी गाउँभरि चार सय रोपनीमा अलैंची लगाइएको छ । तामाङका अनुसार अलैंची खेतीका लागि लुदी अलैंची कृषक समूह गठन गरेर सामूहिक रूपमा खेती गरिँदै आएको छ । 

मर्स्याङ्दी–६, बाहुनडाँडाका किसान लोकनाथ घिमिरेले पनि अलैंची टिपेर सुकाइसकेको बताउनुभयो । ६ रोपनी जमिनमा लगाइएको रामशाही जातको अर्लैची एक सय पचास केजी फलेको उहाँले बताउनुभयो ।

अलैची व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष अजय तामाङका अनुसार १२ सय मिटरभन्दा माथिल्लो भागमा लगाइएको अलैंची दसैँपछि टिप्न सुरु हुने छ । जिल्लामा करिब १२ सय रोपनी क्षेत्रफलमा खेती गरिएको छ । सातसय ५० रोपनीमा लगाइएको अलैंचीले यसवर्ष उत्पादन दिने महासङ्घले जनाएको छ । विगतमा १५ सय रोपनीमा खेती गरिए पनि विभिन्न रोगका कारण अलैंची नष्ट भएको थियो । 

जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा सबैभन्दा धेरै चार सय हेक्टर जमिनमा खेती गरिएको छ । बेँसीसहर, दोर्दी, दुधपोखरी, क्ब्होँलासोँथर गाउँपालिकाका विभिन्न गाउँहरूमा अलैंचीको व्यावसायिक खेती गरिएको महासङ्घले जनाएको छ । यस वर्ष ६० मेट्रिक टन अलैंची उत्पादन हुने अनुमान गरिएको छ । 

जिल्लामा अलैंची बिक्रीबाट किसानले १६ करोड रुपियाँभन्दा बढी आम्दानी गर्दैआएका छन् । यस वर्ष अलैंची उत्पादन पनि बढ्ने र मूल्यमा पनि बृद्धि भएकाले २० करोडजति आम्दानी हुनसक्ने अलैंची व्यावसायिक महासङ्घ लमजुङका अध्यक्ष सोमबहादुर तामाङले बताउनुभयो ।  

नेपाल अलैँची व्यवसायी महासङ्घका अनुसार प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा हाल अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार ८१ हजारदेखि ९२ हजार रुपियाँसम्ममा बिक्री भइरहेको छ । सबैभन्दा राम्रो गुणस्तरको अलैँचीलाई ‘बोल्ड’ भनिन्छ । 

‘बोल्ड’ अलैँचीको अहिलेको बजारभाउ प्रतिमन ९२ हजार रहेको छ । सामान्य गुणस्तरको अलैँची ‘चालु’ भनेर चिनिन्छ । जसको भाउ प्रतिमन ८१ हजार रहेको छ । मध्यम गुणस्तर अर्थात् ‘जेजे’ भनेर चिनिने अलैँचीको भाउ प्रतिमन ८४ हजार रहेको महासङ्घले जनाएको छ ।