तिलाचन पाण्डे
तम्घास(गुल्मी), असोज ४ गते । गुल्मीमा खडेरीको समयमा निकै चर्चा हुने र पानी परेसँगै दमकल खरिद गर्ने निर्णय अस्ताउने गरेको छ ।
खडेरीको समयमा आगलागीलगायतका घटनाहरु हुँदा दमकल खरिद गर्नुपर्ने भन्दै चर्चा हुने र पानी परेसँगै अस्ताउने गर्दा चर्चामै मात्र सीमित हुँदै आएको छ ।
गुल्मीका दुई नगरपालिकासहित १२ स्थानीय तह रहेकोमा रेसुङगा नगरपालिकामा मात्र एउटा दमकल छ । उक्त दमकल सुक्खा समयमा नगरपालिका भित्र नै दौडधुपमा व्यस्त हुन्छ ।
निर्णयमा मात्रै सीमित
२०७७ साल वैशाखमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा तत्कालीन प्रमुख जिल्ला अधिकारी भरत शर्माको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा स्थानीय तहहरुको समन्वयमा दमकल खरिद गर्ने निर्णय भयो । सकेसम्म एक्लै र नभए पायक पर्ने दुई स्थानीय तहले एक दमकल खरिद गर्ने निर्णय भयो । तर उक्त निर्णय निर्णयमा मात्र सीमित भयो ।
नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले गरिएका निर्णयहरु कार्यान्वय नहुनु दुःखद पक्ष भएको बताउनुभयो ।
तत्कालीन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष तथा हाल जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले निर्णय कार्यान्वयन गर्न नसकेको बताउनुभयो । तत्कालीन समयमा सके पालिका एक्लै र नभए पायक पर्ने दुई वा तीन स्थानीय तहको समन्वयमा दमकल खरिद गर्ने निर्णय भएको उहाँको भनाइ छ । जिल्लामा एउटा मात्रै दमकल मात्रै भएको र उक्त दमकलले सबै क्षेत्र समेट्न नसक्ने भएकाले थप दमकल आवश्यक भएको महसुस भएको उहाँको भनाइ छ । आफू पालिकाको अध्यक्ष हुँदा कार्यान्वयन गर्न नसके पनि अहिले आफूले समन्वय गर्ने उहाँको भनाइ छ ।
यता जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जिल्लामा आफू नयाँ भएकाले त्यसको बारेमा अध्ययन गर्ने र भएका निर्णयहरुलाई कार्यान्वयन गर्दै जाने बताउनुभयो ।