फडिन्द्र अधिकारी
लेखनाथ, असोज १९ गते । जेनजी आन्दोलनका कारण अनिश्चित कालका लागि स्थगित भएको गण्डकी प्रदेशसभाको बैठक असोज २२ गतेलाई आह्वान भएको छ । सभामुख कृष्णप्रसाद धितालले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पोखरा–५, मालेपाटनमा रहेको हलमा २२ गते १ बजे बैठक आह्वान गर्नुभएको हो ।
गण्डकी प्रदेशसभा र प्रदेशसभाको सचिवालय आन्दोलनका क्रममा भदौ २४ गतेको आगजनीबाट नष्ट भएका छन् । गण्डकी प्रदेश सरकारका अन्य कार्यालयले सरसफाइ र मर्मत गरी काम आरम्भ गरे पनि प्रदेशसभाका कुनै भवन पनि काम लाग्ने अवस्थामा छैनन् ।
प्रदेशसभाका सचिव गोविन्द पौडेलले संसद् बैठक आह्वान भएको र बैठकस्थलको तयारी पनि करिब सकिएको जानकारी दिनुभयो । “बैठकस्थलका लागि आन्तरिक व्यवस्थापन करिब सकिएको छ, बाँकी काम पनि बैठक अगावै सकिन्छ,” पौडेलले भन्नुभयो ।
भदौ २५ गतेका लागि तोकिएको बैठक जेनजी आन्दोलनपछि रोकिएको थियो । गण्डकी प्रदेशसभामा अहिले खानी तथा खनिजसम्बन्धी विधेयक र गण्डकी विश्वविद्यालय ऐनको संशोधन विधेयक छन् । सरकारले औषधीय उपयोगका लागि गाँजा खेतीसम्बन्धी विधेयक पनि सदनमा लैजाने तयारी गरेको छ ।
गएको भदौ १६ गते ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएपछि प्रदेशसभा स्थगित भएको थियो । त्यसअघि भदौ ३ गते ‘गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ प्रदेशसभाले पारित गरेको थियो ।