• १९ असोज २०८२, आइतबार

नारायणीमा बाढीको बहाव : मानवीय क्षति भएको छैन

blog

नारायणी नदीमा बढेको वाढीको बहाव । तस्बिरः शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, असोज १९ गते । देशभर मनसुनको प्रभावले असर पारे पनि चितवनमा  कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । 

नारायणी र राप्ती नदीको जोखिम रहेको जिल्लामा यस वर्षको वर्षातमा कुनै पनि मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । जोखिम हुने अवस्था आउनुपूर्व नै सचेतना अपनाएर जोखिम न्यूनीकरण गर्न लागिपरेकाले मानवीय क्षति नभएको उहाँले बताउनुभयो । 

असोजको ३ गते आएको तुइनखोलाको पहिरो, त्यसपछि आएको लगातारको पहिरोको कारण हुन सक्ने जोखिमलाई ध्यान दिएर सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । प्रजिअ अर्यालले भन्नुभयो “हामीले जोखिमलाई ध्यान दिएर उच्च सतर्कता अपनायौं, तुइनखोलमा ठुलो पहिरो आएर ५६ घण्टासम्म सवारी साधन रोकियो । सावधानीपूर्वक पहिरो पन्छाएर सवारी साधन सञ्चालन गरेका थियौँ ।” 

पहिरोमा रोकिएका सवारी साधनको यात्रुलाई निःशुल्क खाना, स्वास्थ्य उपचार, पहिरोबाट फर्काएर नारायणगढसम्म ल्याउने व्यवस्था गरेको उहाँले बताउनुभयो । “असोज १८ गतेदेखि आएको भारी वर्षाको असरलाई ध्यान दिएर जोखिम स्थानको सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएका थियौं” उहाँले भन्नुभयो, “राति पूर्णरुपमा सवारी साधन चलाउन रोक्यौं, रोकिएका सवारी साधनका यात्रुलाई भरतपुर, नारायणग, सौराहाका होटलमा ७५ प्रतिशत छुटमा बस्ने व्यवस्था मिलाइएको थियो ।”

जिल्ला सुरक्षा समितिको बैठक त्यसको निर्णय पूर्णरुपमा कार्यान्वयन गर्न सफल भएको कारण कुनै पनि मानवीय क्षति नभएको उहाँले बताउनुभयो ।