सन्तोष दहित
दाङ, असोज ४ गते । जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका कैदीबन्दीमध्ये ११५ जना अझै कारागारमा फर्किएका छैनन् ।
कारागार कार्यालयका जेलर गिरबहादुर सिजवालका अनुसार आन्दोलनकै क्रममा कारागारबाट २५३ जना कैदीबन्दी भागेका थिए । तीमध्ये हालसम्म १२५ जना फर्किएका छन् भने १३ जना सम्पर्कमा आएका छन् । तर ११५ जनासँग भने अहिलेसम्म कुनै सम्पर्क स्थापित भएको छैन ।
फरार कैदीबन्दीहरूको खोजी भइरहेको जानकारी दिँदै जेलर सिजवालले प्रशासनले सूचना जारी गरेपछि कोही आफैं फर्किएको र कोहीलाई पक्राउ गरी ल्याइएको बताए । उहाँका अनुसार अझै पनि फर्किने क्रम जारी छ ।
जेनजी आन्दोलनकै अवसर पारी पहिलो दिन १२४ जना कैदीबन्दी भागेका थिए भने दोस्रो दिन थप १२९ जना कैदीबन्दी फरार भएका थिए ।