• १९ असोज २०८२, आइतबार

तनहुँमा अझै १४३ कैदी फरारः त्रास र असुरक्षा बढ्दो

blog

दमौलीस्थित तनहुँ कारागारको द्वार । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, असोज ४ गते ।
तनहुँ जिल्लाको कारागारबाट १४३ कैदीबन्दी अझै फरार रहेका छन् । फरार हुँदा स्थानीय समुदायमा चोरी, लुटपाट तथा हिंसाको त्रास र असुरक्षा फैलिएको छ ।

प्रहरीले हालसम्म १८४ कैदीबन्दी नियन्त्रणमा ल्याइसकेको भए पनि बाँकी फरारहरूले समाजमा अनिश्चितता बढाएका छन् ।

स्थानीय बासिन्दा राति बाहिर निस्कन डराउँछन् भने स्कुल र सार्वजनिक ठाउँमा सुरक्षा चिन्ता बढेको छ । “हामीलाई थाहा छैन फरार कैदीबन्दी कुन क्षेत्रमा छन्, कहिले समस्या आउँछ भन्ने डरले घर छोडेर बाहिर जान पनि सहज छैन,” व्यास नगरपालिका–५ का एक बासिन्दाले बताए  ।

कारागारमा रहेका ३२७ मध्ये हालसम्म १८४ कैदीबन्दी मात्र पक्राउ परेका छन् भने बाँकी फरार रहेको जेलर टेकप्रसाद भट्टराईले जानकारी दिनुभयो ।  कारागारमा हाल महिला १५  र बाँकी पुरुष गरी १९४ जना छन् । जसमा १८४ जना तनहुँ कारागारमा सूचीकृत कैदीबन्दी र बाँकी १० अन्य जिल्लाका हुन् । 

भदौ २४ गते आन्दोलनकारीहरूले जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, खानेपानी डिभिजन कार्यालय, सिँचाइ कार्यालयलगायतमा आगजनी र तोडफोड गर्दा कारागार परिसर पनि निशानामा परेको थियो । त्यही मौकामा कैदीबन्दीहरू फरार भएका थिए । फरारमध्ये केही सामान्य मुद्दामा सजाय भोग्दै गरेका भए पनि धेरै गम्भीर आपराधिक अभियोगमा जेल जीवन बिताइरहेका थिए ।

प्रहरीले फरार कैदीबन्दीको खोजी तीव्र पारेको र सुरक्षा संयन्त्रसँग समन्वय भइरहेको प्रशासनले जनाएको छ ।

यसैबिच कारागार प्रशासनिक कार्यालयमा भएको आगजनीले सम्पूर्ण अभिलेख जलेर नष्ट भएको छ । कैदीबन्दीको विवरण, मुद्दासम्बन्धी फाइल, प्रशासनिक कागजात, फर्निचर तथा विद्युतीय उपकरणसमेत जलेर ध्वस्त भएको जेलर भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कारागार स्थापना भएदेखिका सम्पूर्ण कागजात नष्ट भएका छन्, जसले आगामी दिनमा प्रशासनिक काममा ठुलो कठिनाइ ल्याउनेछ ।” फरार कैदीबन्दीले सुरक्षा संवेदनशीलतालाई चुनौती दिएको छ । बजार, सार्वजनिक यातायात र गाउँठाउँमा सामान्य गतिविधि गर्दा मानिसहरू सतर्क भएका छन् । विद्यालयका शिक्षक र अभिभावकले बच्चालाई बिहान–साँझ सुरक्षित गराउने उपायमा ध्यान दिन थालेका छन् ।