• १९ असोज २०८२, आइतबार

म्याग्दीमा चाढपर्व लक्षित बजार अनुगमन सुरु

blog

बेनीमा बजार अनुगमन गरिँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, असोज ४ गते ।
म्याग्दीमा चाढपर्व लक्षित बजार अनुगमन सुरु गरिएको छ । दशैं नजिकिएसँगै उपभोक्ताको हितलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बजार अनुगमन थालिएको हो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ, पर्यटन तथा उद्योग कार्यालय म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त टोलीले सदरमुकाम बेनीमा रहेका व्यवसायिक पसलहरुको अनुगमन थालिएको छ ।

अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुको बिक्री व्यवस्था अनुगमन गर्दै सामानको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्यजस्ता पक्षहरुको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यले बताउनुभयो ।

अनुगमनको क्रममा कमजोरी भेटिए वा उपभोक्तालाई ठगी गरे पाइए कानुअनुसार जरिवाना र थप कारबाही गरिने समेत उहाँले बताउनुभयो । शुक्रबार बेनी बजारका किराना, खाद्यान्न, डेरी, होटल तथा रेष्टुरेण्ट, व्युटीपार्लर, मासुलगायत विभिन्न २० वटा पसलहरुमा अनुगमन गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार वीरेन्द्रचोक, हुलाकचोक, न्यूरोड, क्याम्पसचोक, शिक्षामार्ग, हस्पिटलचोक र कालीपुल क्षेत्रमा सञ्चालनमा रहेका पसलहरुमा अनुगमन र निरीक्षण गरिएको थियो ।

अनुगमन टोलीले  ११ हजार ३५ रुपियाँ मूल्य बराबरको म्याद सकिएका दैनिक खाद्यान्न उपभोग्य सामग्रीहरु जफत गरी नष्ट गरिएको ढुङ्गानाले जानकारी दिनुभयो ।

म्याद सकिएका सामानहरुमा सुजी, कुरकुरे, चिप्स, चिसो पेयपदार्थ कोकाकोला र साईट्रिक एसिड जफत गरी नष्ट गरिएको उहाँले बताउनुभयो ।

अनुगमन टोलीले कालीपुलस्थित एक पसलमा धेरै अमिलो पदार्थ साईट्रिक एसिड पत्ता लगाएको थियो । उक्त पदार्थ स्वास्थ्यका लागि हानिकारक रहेकाले बिक्री तथा प्रयोग नगर्न सुझावको साथै सिल गरिएको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख प्रेम अर्यालले बताउनुभयो ।

अनुगमन टोलीबाट पसलहरुहरुलाई नियमित सरसफाइ गर्न, मूल्यसूची र साइनबोर्डको व्यवस्थापन, म्याद सकिएका सामानलाई अलगै राख्न र पसल दर्ता एवम् नवीकरण गरेर सञ्चालन गर्न सुझाव दिइएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।  

यसैबिच म्याग्दी उद्योग वाणिज्य संघले दशैंतिहारलगायत चाडपर्वलाई लक्षित गरेर घटनास्थापनाको दिनदेखि तिहारको भाइटिकाको दिनसम्मका लागि छुट तथा सुपथ मूल्यसूची निर्धारण गरी कार्यान्वयन गर्न व्यवसायीलाई अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । स्थानीय तहहरुको समन्वयमा ग्रामिण क्षेत्रमा पनि अनुगमन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।