• १९ असोज २०८२, आइतबार

मधेश सरकारले जेनजी प्रदर्शनका सहिद परिवारलाई अढाई लाख प्रदान गर्ने

blog

प्रदर्शनपछिको क्षतिपछि नयाँ स्थानमा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी 
जनकपुरधाम, असोज ४ गते ।
मधेश सरकारले जेनजी प्रदर्शनका सहिद परिवारलाई राहत स्वरुप अढाई लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा  सहादत प्राप्त गरेका आफ्नै प्रदेशका सहिदलाई श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको परिवारलाई थप राहतस्वरूप प्रति परिवार दुई लाख पचास हजार रुपियाँ प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदर्शनका क्रममा घाइते भएकाहरु प्रति शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दै उनीहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

त्यसैगरी, शान्तिपूर्ण आन्दोलनमा बाह्य घुसपैठ भई सरकारी तथा निजी सम्पत्तिमा गरिएका आगजनी, तोडफोड र क्षतिको घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी कानुनी कारबाही अघि बढाउनुपर्ने निर्णय पनि बैठकले गरेको छ ।

मधेश प्रदेश सरकारले जेनजी पुस्ताले अघि सारेका मागहरूको समाधान वर्तमान संविधानकै दायराभित्र रहेर खोजिने स्पष्ट पारेको छ ।

मधेश प्रदेश सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त गर्नुभएका सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गरेको छ ।