• ८ मंसिर २०८१, शनिबार

तारानाथ शर्माका कथामा प्रगतिवादी चेतना

blog

वि.सं २००७ को क्रान्तिपछि जब देशमा प्रजातन्त्र आयो, राजनीतिक स्वतन्त्रताको अधिकतम उपभोेग गर्न पाउने मौलिक अधिकार पनि आम जनताले पाए । धमाधम राजनीतिक दलहरू एकपछि अर्को गर्दै देखिन थालिए । जनताले वाक् स्वातन्त्रता पाउनुको फलस्वरूप समाचार पत्रिकाहरू पनि प्रकाशन हुन थाले । रेडियो नेपालजस्तो सञ्चार माध्यम बिस्तारै बिस्तारै जनचेतना जगाउन क्रियाशील भयो समग्र नेपाली साहित्यमा नयाँ धारको श्रीगणेश भयो । पूर्णवर्ती साहित्य, परम्पराले नयाँ गति र दिशा लिन थाल्यो, किनभने निरङ्कुश राणातन्त्रले लगाएको पर्खाल भत्किसकेको थियो । देशभर प्रजातन्त्रको नयाँ किरण झलमलाएको थियो । नयाँ चेतना र उत्साहको लहर सर्वत्र फैलिएको थियो । यसै पृष्ठभूमिमा २००७ सालको क्रान्तिको सफलताले विशेष गरेर आधुनिक कथा परम्परामा एउटा अत्यन्त महìवपूर्ण मोड आयो । 

त्यो मोड थियो प्रगतिवादी आन्दोलन । वि. सं. २०१० को दशकको पूर्वाद्र्धदेखि आरम्भ भएको यस आन्दोलनका केन्द्रहरू विशेषतः दुई थिए । पहिला भारतको बनारस र अर्को राजधानी काठमाडौँ । क्रान्ति पश्चात देशमा आएको शौक्षिक जागरणका कारण त्यस बेला नेपाली युवाहरू पढ्न बनारस जाने गर्दथे । ती छात्र युवाहरूले विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्न थाले जस्तो प्रकाशन कार्य गर्नु, प्रगतिशील सङ्घ–संस्थाहरू खोली गोष्ठी, जमघट, छलफल, अन्तरक्रिया आदि सम्पन्न गर्नु एक प्रकारले प्रगतिशील लेखनमा केन्द्रित रहेर ती युवाहरूले आफ्नो पढाइ सँगसँगै आफूभित्र लुकेर बसेको साहित्यिक प्रतिभा देखाउँदै गए । त्यसबखतमा ती क्रियाशील नेपाली युवा छात्रहरूमध्येमा एकजना थिए– तारानाथ शर्मा उनका अरु साथीहरू थिए जगदीश नेपाली, पासाङ गोपर्मा, वीरेन्द्र खँुजेली, श्रीशर्मा, (भवानी घिमिरे) देवमणी ढकाल, बालकृष्ण पोखरेल, एम. बी. खत्री, यज्ञप्रसाद आचार्य, विन्धुप्रसाद नेपाली, श्यामप्रसाद अधिकारी, कोशराज शर्मा, बल्लभमणि दाहाल, माधव भँडारी आदि । 

संयोगको कुरो के भयो भने तत्कालीन प्रगतिशील आन्दोलनअन्तर्गतका लेखनहरू विशेषतः नेपाली साहित्यको कथाविधामै केन्द्रित भयो । जगदीश नेपालीको सम्पादनमा सं २०११ म प्रकाशित भएको कथा सङ्ग्रह आदर्शश्री मा तारानाथ शर्माको राँको शीर्षकमा कथा छापियो । त्यसरी नै स्वयं तारानाथ शर्मा र वीरेन्द्र खुँजेलीको सम्पादनमा सं २०१३ मा प्रकाशित भएको कथा सङ्ग्रह बल्दो दियोमा तारानाथ शर्माको कान्छी शीर्षकको कथा छापियो । यसरी सं २०१० को पूर्वाद्र्ध (यथार्थवादको युग)देखि कथा विधामा देखापरेका तारानाथ शर्माका कथाहरूको सङ्ग्रह दुई पोका चुरा सं २०२९ मा प्रकाशित भयो उनका यस एक मात्र कथा सङ्ग्रहमा सातवटा कथाहरू सङ्ग्रहित छन् । ती हुन राँको, घाँडो, अपमान, कान्छी, अन्योल, उदाङ्ग र दुई पोका चुरा । यी कथाहरूमा मुख्यतः प्रगतिवादी स्वरले नै प्रधानता पाएको छ । 

तारानाथ शर्माले आफ्ना कथाहरूमा समाजमा रहेका शोषण वर्ग अर्थात् उच्च वर्णका मानिसहरूले निम्न वर्गका मानिसमाथि गर्ने गरेका अन्याय, अत्याचार र उपेक्षा भावको आलोचना गरेका छन् । यसको अर्थ यही हो उनी समाजमा विद्यमान वर्गद्वन्द्वका कट्टर विरोधी हुन् । आफ्ना कथाहरूमा उनले सामन्ती र अत्याचारी व्यक्तिहरूमाथि प्रहार गरी उनीहरूले गरिबप्रतिको नकारात्मक दृष्टिकोणको भत्र्सना गरेका छन् । समाजका असहाय र निमुखा गरिब मानिसहरूप्रति सहानुभूति राख्दै उनीहरूका संवेदना र संवेगलाई यथार्थवादी दृष्टिबाट प्रस्तुत गर्ने कलामा उनी निपूर्ण छन् । 

कथाकार तारानाथ शर्मा परम्परागत तथा रुढिवादी समाज–व्यवस्थाबाट असन्तुष्ट भएको पाइन्छ । उनको विचारमा सामाजिक विकृति र विसङ्गतिहरूको मूल प्रेरक तìव भनेको समाज हो । स्वस्थ समाज भएन भने पूरै वातावरण प्रदूषित हुन्छ भन्ने वितार उनले आफ्ना कथाहरूमा व्यक्त गरेका छन् । यसै सन्दर्भमा उनले समाजका नयाँ पुस्ताका युवकहरूमा पास्तात्य संस्कृतिले पारेको नराम्रो प्रभावको पनि चित्रण गरेका छन् । यसको अर्थ के हो भने उनी सामाजिक रूपान्तरणमा असल विश्वास राख्ने कथा स्रष्टा हुन् । यस अर्थमा उनले यस सामाजिक दृष्टिमा प्रगतिशील चेतना अन्तर्निहित छ । 

तारानाथ शर्माले सङ्ख्यात्मक हिसाबले धेरै कथाहरू लेखेनन् जति लेखे तिनमा गुणवता भएको कुनै शङ्का छैन । ती धेरै सङ्ख्याका कथाहरूमा उनको मुख्य प्रकृत्ति प्रगतिवादी स्वर मुखरित भएको छँदैछ । साथै उनले प्रेम अनुसरणका श्रम संवेदनाहरूको पनि चित्रण गरेका छन् । यति मात्र नभएर उनले मान्छेको बाँच्नुको अर्थहीनताको पनि पनि चित्रण गर्दै विसङ्गत मानव जीवनका पीडालाई व्यक्त गरेका छन् । अन्त्यमा तारानाथ शर्मालाई यथार्थवादका युगका प्रगतिवादी धारका एक स्तम्भ मान्न सकिन्छ ।